
काठमाडौं । आइतबार शेयरबजार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा जम्माजम्मी ९ मिनेट कारोबार हुँदा १११.२० अंकले वृद्धि भएपछि नेपालका शेयर कारोबारीहरू पुलकित भए । धितोपत्र दलालको कार्यालयमा पुगी शेयर कारोबार गरेका उनीहरूले यही मेसोमा उत्सव मनाउँदै एक अर्कालाई लड्डुसमेत खुवाउन भ्याए ।
यसले के देखाउँछ भने नेपालका शेयर कारोबारीहरू परिपक्व लगानीकर्ता होइनन्, न त नेपालको पूँजीबजारको स्तर नै त्यस्तो छ । यसो किन भनिएको हो भने यदी बुझेका लगानीकर्ताहरू थिए भने यतिखेर उनीहरू कुन कम्पनीको शेयर किन्ने र बेच्ने भन्ने विषयमा घोत्लिन्थे/छलफल गरिरहेका हुन्थे ।
सहजै अनुमान लगाउन सकिन्छ : आइतबार साँझ कारोबारीहरूको मादक जमघट त अवश्य भयो, तर त्यहाँ पूँजीबजारका कुन समूह र कुन कम्पनीको स्थिति कस्तो छ भन्ने विषयमा उनीहरूबीच कुनै विमर्श भएन ।
मौद्रिक नीतिको समीक्षामा शेयर बजारसँग प्रत्यक्ष जोडिएको अंश ‘रु. ५० लाखभन्दा बढीको शेयर धितो कर्जाको जोखिमभार घटाई १२५ प्रतिशत कायम गरिनेछ’ भन्ने वाक्यांश मात्रै हो । अलिक पर गएर पूँजीबजारसँग साइनो जोड्न सकिने प्रावधान भनेको बैंकको नीतिगत निक्षेप संकलन र बैंकदरमा आएको झिनो कटौतीमात्रै हो, जसले बजार नै ह्वात्तै बढ्ने र घट्नेगरी त्यस्तो ठूलो प्रभाव पार्न सक्दैन ।
त्यस्तो विमर्शको अपेक्षा गर्नुको पनि कारण छ । त्यो के हो भने शेयरबजारमा लगानी गर्ने वास्तविक लगानीकर्ताले हेर्ने भनेको कम्पनीको वित्तीय स्वास्थ्य हो । त्यस कम्पनीले विगतमा कति लाभांश बाँड्यो भन्ने कुराको आधारमा शेयरको भविष्यमाथि प्रक्षेपण गरी लगानी गर्ने हो । त्यसैगरी बजारमा लगानी गर्ने समय सही हो या होइन भनी सोचविचार गर्ने र नियामकहरूले के कस्ता नीतिहरू कुन उद्धेश्यले अघि सार्दैछन् भनी विश्लेषण गर्ने हो ।
तर यस्ता वाह्य पक्षहरूबारे कहिल्यै विचार नगर्ने कारोबारीहरूले पूँजीबजारमा हुनसक्ने घटबढमा आफ्नो नाफा सुरक्षित गर्ने र क्षति बहन गर्ने क्षमता छ वा छैन भन्ने सम्मको समेत हेक्का राखेको देखिँदैन । त्यसैले थोरै बजार घट्ने बित्तिकै अत्ति नै पेनिक (हतोत्साही) बन्ने र केही बढ्ने बित्तिकै अतिउत्साही हुने प्रवृत्ति कारोबारीहरूले देखाउँदै आएक छन् । त्यसैको पछिल्लो श्रृंखला हो : नेप्से परिसूचक र ब्रोकरका अफिसमा देखिएका गतिविधि ।
आधारहीन वृद्धि
हिजो (आइतबार) जम्मा ९ मिनेटभन्दा बढी कारोबार नै हुन नसक्नेगरी शेयर बजारमा पटकपटक सर्किट लाग्नुपर्ने ठोस कारण केही थियो त ? यो प्रश्नको जवाफमा जो कोही भन्न सक्छन् : गत शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समीक्षामार्फत गरिएका नीतिगत परिवर्तन र कारणहरू ।
मौद्रिक नीतिको समीक्षामा शेयर बजारसँग प्रत्यक्ष जोडिएको अंश ‘रु. ५० लाखभन्दा बढीको शेयर धितो कर्जाको जोखिमभार घटाई १२५ प्रतिशत कायम गरिनेछ’ भन्ने वाक्यांश मात्रै हो । अलिक पर गएर पूँजीबजारसँग साइनो जोड्न सकिने प्रावधान भनेको बैंकको नीतिगत निक्षेप संकलन र बैंकदरमा आएको झिनो कटौतीमात्रै हो, जसले बजार नै ह्वात्तै बढ्ने र घट्नेगरी त्यस्तो ठूलो प्रभाव पार्न सक्दैन ।
धितोपत्र बोर्डको ३०औं वार्षिकोत्सव अवसरमा २५ जेठ २०७९ मा तत्कालीन अर्थमन्त्री शर्मा र बोर्ड अध्यक्ष हमालले भाषण गरेकै भरमा नेप्से ६० अंकले बढ्यो । तर भाषण गरेको भरमा नेप्से बढ्ने आधार के थियो र त्यो वृद्धि अर्को केही दिनसम्म किन टिकेन भन्ने जवाफ न कारोबारीले दिन सके, न त बोर्डको कार्यक्रममा हौसिएर भाषण गरेका शर्मा र हमालले नै !
यदी कर्जाको जोखिमभारमा गरिएको २५ प्रतिशतको कटौतीलाई आधार मान्ने हो भने त्यसले बैंकबाट आउने मार्जिन कलको फ्रिक्वेन्सी घटाउने बाहेक अरू केही ठोस सहजता निम्त्याउन सक्ने अवस्था छैन । बैंक ब्याजदर घट्दा बजारमा नगद प्रवाह बढ्न सक्ने भन्दै उत्साहित हुने हो भने त्यो अत्ति घातक बन्ने निश्चित छ । किनकी उद्योगधन्दा या अन्य कुनै व्यापार व्यवसाय गर्न भनी लिएको कर्जा रकम शेयर बजारमा हालेर त्यसबाट नाफा कमाउन खोज्ने अधोबुद्धिले गर्दा नै पछिल्ला वर्षमा शेयर लगानीकर्ता डुबिरहने स्थिति बनेको हो ।
यदी कोरोनाकालमा थला परेका उद्योगधन्दा र व्यवसायहरूलाई पुनःजागृत गर्नका लागि सरकारले सहुलियतपूर्ण कर्जाका रूपमा दिएको रकम शेयरबजार र घरजग्गाको कारोबारमा नहालिएको थियो भने शेयरबजार स्वाभाविक अवस्थामै रहन्थ्यो । न यो बेलुन झैं फुल्थ्यो, न त हावा फुस्केर दुनियाँको लगानी उडाउँथ्यो ।
समग्रमा के बुझ्नुपर्छ भने आइतबार जुन गतिमा नेप्से परिसूचक बढ्यो : त्यो कुनै दृष्ट्रिले पनि स्वाभाविक थिएन । न त्यसो हुनपर्ने कुनै कारण छ, न त त्यसले शेयरबजारको स्थायित्वको संकेत नै दिएको छ ।
छैन टिक्ने आधार
नेपालको शेयरबजारलाई कारोबारीहरूले अचम्मलाग्दा हौवा फैलाएर प्रभावित पार्ने गरेका छन् । नियामक निकाय धितोपत्र बोर्डका अध्यक्ष र अर्थमन्त्री या गभर्नरबीच भेट भयो भने पनि कारोबारीहरूले यसैलाई भजाएर बजार बढाउने गरेका दृष्ट्रान्त हामीसँग छन् ।
शेयर बजारमा निरन्तर गिरावट आइरहँदा २१ भदौ २०७८ मा यस्तै हौवाले काम गर्यो । शेयर धितो कर्जाको अधिकतम सीमा १२ करोड रुपैयाँ राखिएकैले शेयरबजार घटेको भन्दै कारोबारीहरूले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई भेटे । सत्तामा बसेर अर्थतन्त्र तहसनहस बनाइरहेको आरोप खेपेका शर्माले पनि सो भेटलाई राजनीतिक रूपमा क्यास गर्न प्रचारमा उत्रिए । उनले गभर्नरलाई फोन गरेको हल्ला फैलाउन अर्थ मन्त्रालय र कार्यकर्ताको संयन्त्रलाई सक्दो परिचालन गरे । अर्थमन्त्रीले गभर्नरलाई फोन गरेको कारण १२ करोडको क्याप घट्ने अर्को हौवा कारोबारीले फैलाए र नेप्सेलाई ठूलो अंकले बढाए । तर त्यो वृद्धिले अर्को दिन निरन्तरता पाउन सकेन ।
धितोपत्र बोर्डको ३०औं वार्षिकोत्सव अवसरमा २५ जेठ २०७९ मा तत्कालीन अर्थमन्त्री शर्मा र बोर्ड अध्यक्ष हमालले भाषण गरेकै भरमा नेप्से ६० अंकले बढ्यो । तर भाषण गरेको भरमा नेप्से बढ्ने आधार के थियो र त्यो वृद्धि अर्को केही दिनसम्म किन टिकेन भन्ने जवाफ न कारोबारीले दिन सके, न त बोर्डको कार्यक्रममा हौसिएर भाषण गरेका शर्मा र हमालले नै !
बढाइएको बजार देखाउँदै शेयर कारोबारीहरूले अबको केही दिनसम्म सर्वसाधारण लगानीकर्तालाई शेयर किन्न उक्साउन सक्छन् । त्यसैले आम सर्वसाधारण लगानीकर्ता यसतर्फ सचेत हुन जरुरी छ ।
कम्पनीको वासलात र लगानी स्थिति हेरी लगानीकर्ताले कुनै पनि कम्पनीको शेयरमा नाफा र घाटा ब्यहोर्ने हो । यसरी हुने कारोबारकै आधारमा नेप्से परिसूचक बढ्ने र घट्ने हुनुपर्ने हो । तर नेपालका शेयर कारोबारीहरूले बिना आधार र बिना सुझबुझ हौवा फैलाएर बजारमा अवसर छोप्ने क्रियाकलाप गरिरहेका छन् । सरकार फेरिँदा पनि हौवा, सरकार गिर्दा पनि हौवा, बजेट आउँदा पनि हौवा, मौद्रिक नीति आउँदा पनि हौवा, कम्पनीको सीईओ बदलिँदा पनि हौवा, टिकटकमा कसैले नेप्से ५ हजार अंक पुग्छ भनी खोकिदिँदा पनि हौवा...!
तर नयाँ सरकारले पूँजीबजारप्रति लिने नीति कस्तो छ ? बजेटमा राखिएको कुन व्यवस्थाले पूँजीबजारलाई बढावा दिँदैछ ? मौद्रिक नीतिले वास्तवमै पूँजीबजारलाई विस्तार गर्ने बाटो खोलेको छ कि छैन या बजारिया विश्लेषकहरूको खोकीले कुनै अर्थ राख्छ कि राख्दैन भन्नेसम्म कारोबारीहरूले सोच्न सकिरहेका छैनन् ।
फोको फुट्ने पक्का !
शेयरबजारप्रति सबैभन्दा असहिष्णु रहेको आरोप खेपेका पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले बारम्बार भन्ने गर्थे : ‘फोकोको भर हुँदैन, कुनै पनि बेला फुट्न सक्छ ।’
शेयरबजारमा देखिएको अस्वाभाविक वृद्धिले थपेको जोखिमबारे खतिवडाका यस्ता टिप्पणी र प्रतिक्रियालाई कारोबारीहरूले जहिल्यै आलोचनाको विषय बनाइरहे । अन्ततः ३२०० अंकमा पुगेको नेप्सेको फोको फुट्यो र आम लगानीकर्ताले शेयरबजारमा खर्बौं रुपैयाँ गुमाए । यसो हुनुमा शेयर कारोबारीहरूकै अराजकता प्रमुख कारण रह्यो ।
कारोबारीहरूले केही दिन, बढीमा एक सातासम्म मौद्रिक नीतिको हौवा देखाउँदै बजार बढाएर चलखेल त गर्न सक्लान्, तर अबको १० दिनपछि निश्चिन्त घट्ने बजारको जिम्मा उनीहरूले लिने छैनन् ।
कारोबारीहरूको यो बजार अराजकताले उनीहरूलाई त डुबाएको छ नै, दुःखजिलो गरेर कमाएको रकमले शेयर किनेका सर्वसाधारण लगानीकर्तालाई पनि अत्याइरहेको छ । मौद्रिक नीतिको समीक्षापछि आइतबार बढाइएको शेयरबजारको लय पनि कारोबारीहरूको हौवाले नै निर्धारण गरेको छ भनी बुझ्न खासै मेहनत गरिरहनुपर्दैन ।
कम्पनीहरूको खस्कँदो अवस्था, बैंक तथा वित्तीय संस्थामा बढिरहेको खराब कर्जा, माग संकुचनका कारण उत्पादनमूलक उद्योगमा गिर्दो उत्पादन क्षमता, नयाँ उद्योगधन्दा विस्तारमा उदासिनता, इजी मनीतर्फ अग्रसर आर्थिक मनोविज्ञान, वैश्विक आर्थिक शिथिलता, आर्थिक वृद्धिदरमा देखिएको संकुचन, नीतिगत भ्रष्टाचार गरी कम्पनीहरूको आईपीओ प्रिमियममा किन्न लगाइएको अवस्था, लगानीकर्ताहरूमा न्यून कारोबार साक्षरता...नेपालको शेयर बजार नबढ्नु र बढे पनि नटिक्नुका कारणै कारण छन् । तर, टिक्ने कारण र आधार तत्काललाई यही हो भन्ने अवस्था छैन ।
त्यसैले, कुनै नियमित या अनियमित घटना हुनासाथ पटके हौवाकै भरमा बढ्ने शेयरबजारको वृद्धि टिक्ने कुनै आधार छैन । आइतबार बढेको शेयरबजारको हकमा पनि यही यथार्थ लागू हुनेछ । कारोबारीहरूले केही दिन, बढीमा एक सातासम्म मौद्रिक नीतिको हौवा देखाउँदै बजार बढाएर चलखेल त गर्न सक्लान्, तर अबको १० दिनपछि निश्चिन्त घट्ने बजारको जिम्मा उनीहरूले लिने छैनन् । उनीहरूले सर्वसाधारण लगानीकर्तालाई शेयर किन्न उक्साउन सक्छन् । त्यसैले आम सर्वसाधारण लगानीकर्ता यसतर्फ सचेत हुन जरुरी छ ।
प्रतिक्रिया दिनुहोस