aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

अमेरिकन चेम्बर अफ कमर्स नेपालको अध्यक्षमा निर्मलकाजी श्रेष्ठ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ मंसिर २०८०
अमेरिकन चेम्बर अफ कमर्स नेपालको अध्यक्षमा निर्मलकाजी श्रेष्ठ

काठमाडौं । अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायहरूको छाता संस्था अमेरिकन च्याम्बर्स अफ कमर्स नेपाल (एमच्याम)को अध्यक्षमा निर्मलकाजी श्रेष्ठ निर्वाचित भएका छन् । संस्थापक अध्यक्ष अजित विक्रम शाहको दुई वर्षे कार्यकाल सकिएसँगै आइतबार सम्पन्न एमच्यामको वार्षिक साधारण सभाले मेट लाइफ, अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी नेपालका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

सात सदस्यीय कार्यसमितिमा श्रेष्ठसहित लिपफ्रग टेक्नोलोजीका कैलाशराज विजयानन्द, पठाओ नेपालका अशिममान सिंह बस्न्यात, गो फोर्डका आकाश गोल्छा, लक्ष्मी सनराइज बैंकका मनिष थापा, मोघा इनर्जीका समर्थ मोघा र बोटलर्स नेपाल लिमिटेडका स्नेह राज भण्डारी निर्वाचित भएका छन् । संस्थाको उपाध्यक्ष, सचिव र कोषाध्यक्षको चयन संस्थाको सञ्चालक समितिले आगामी बैठकबाट गर्नेछ ।

एमच्यामको स्थापनामा शाहको योगदानलाई सम्मान गर्दै शाहलाई संस्थापक अध्यक्षको रुपमा बोर्डको मानार्थ सदस्यमा राखिएको नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बताए । त्यसैगरी, अभिनव ल च्याम्बर्सका सेमान्त दाहाल मानार्थ सदस्यको रूपमा कार्यसमितिमा रहने छन् । श्रेष्ठले आफू नेतृत्वको टिममा ऊर्जाशील पदाधिकारी तथा सदस्यहरू रहेको भन्दै सांगठनिक र व्यावसायिक हितका लागि काम गर्ने बताए ।

ऊर्जा, पर्यटन तथा सूचना प्रविधि क्षेत्रमा प्राथमिकताका साथ लगानी भित्र्याउनका लागि आवश्यक पहल गर्ने अध्यक्ष श्रेष्ठको भनाइ छ । उनले आफ्नो कार्यकालमा लगानी तथा उद्यम सम्बन्धित विभिन्न सम्मेलनहरू नेपाल तथा अन्य मुलुकमा आयोजना गर्ने तथा अन्तर्राष्ट्रिय सम्मेलन तथा मेलाहरूमा सहभागी हुने बताए ।

साधारण सभाले अघिल्लो कार्यसमितिका कोषाध्यक्ष र सचिवले प्रस्तुत गरेको आर्थिक तथा वार्षिक प्रगति प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो । साधारण सभाको सहजीकरण एमच्याम सचिवालयका प्रमुख अमिरराज थापाले गरेका थिए । एमच्याम स्थापनाले छरिएर रहेका व्यवसायीहरूलाई संगठित गर्ने काम भएको थियो । संस्थापक अध्यक्ष शाहको दुई वर्षे कार्यकालमा एमच्याममा ४५ व्यवसाय आबद्ध भइसकेका छन् ।

यस्तै एमच्याम स्थापनाको दुई वर्षभित्रै नेपालभन्दा ८ सय गुणा ठूलो अर्थतन्त्र भएको देश अमेरिकाको ’अमेरिकन च्याम्बर अफ कमर्स’सँग संघको आबद्धता प्राप्त गर्नु शाह कार्यकालको महत्त्वपूर्ण उपलब्धि हो । जसले नेपालमा अमेरिकी लगानीको सम्भावना समेत थप बढाएको छ । यससँगै एमच्याम नेपाल अमेरिकन च्याम्बर अफ कमर्सको विश्वव्यापी नेटवर्कको १३०औँ सदस्य बनेको छ ।

यस्तै एमच्यामले आफ्ना व्यवसायीहरूको व्यवसाय प्रवर्द्धनका निम्ति मेम्बरशीप लर्निङ सिरिज सञ्चालन गर्दै आएको छ । जसले सदस्यहरूबीच नेटवर्किङ, फेलोसिप तथा एक अर्काका व्यवसायबारे नजिकबाट बुझ्ने र सहकार्य गर्ने समेत अवसर पाएका छन् । संघकै पहलमा अमेरिकी लगानी नेपालमा भित्र्याएका व्यवसायीहरू र नेपाल सरकारका विभिन्न निकायका प्रतिनिधिहरूबीच छलफलहरू भएको छ । जसले मुलुकमा लगानीको वातावरण राम्रो बनाउन ठूलो भूमिका खेलेको संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस