aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

दुबईमा कोप-२८, साउदी अरबमा तेल खानीको चिन्ता !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ मंसिर २०८०
दुबईमा कोप-२८, साउदी अरबमा तेल खानीको चिन्ता !

एजेन्सी । साउदी अरबले आइतबार कोप-२८ जलवायु वार्तामा उसको ‘परिप्रेक्ष्य’ र ‘चिन्ताहरू’ लाई ध्यानमा राख्नुपर्ने बताएको छ । कोप-२८ जलवायु वार्तामा शीर्ष तेल निर्यातकर्ता मुलुक साउदी अरबले जीवाश्म इन्धनलाई चरणबद्ध अन्त्य गर्न सहमत हुने कदमहरूको प्रतिरोध गरिरहेको छ ।

‘संयुक्त राष्ट्रसङ्घीय जलवायु वार्तामा सहभागीहरूले सकारात्मक सोच्नुपर्छ, आवश्यक उत्सर्जनमा कमीलाई सम्बोधन गर्नुपर्छ, तर हाम्रो दृष्टिकोण र चिन्तलाई पनि ध्यानमा राख्नुपर्छ’, साउदी प्रतिनिधिले प्रतिनिधिहरूको बैठकमा भने, ‘विशिष्ट ऊर्जा क्षेत्रहरूलाई लक्षित गर्नेबारे राजनीतिकरूपमा समर्थित बुँदाबारे हामीले धेरै फरक छलफल र सेटिङमा सुनेको कुरा हो तर हरेक पटक विज्ञान, सामान्य ज्ञान र सिद्धान्तहरू हावी भयो, यो क्षेत्र जलवायु समाधानका लागि धेरै महत्त्वपूर्ण क्षेत्र हो, हामी जलवायु समाधानको सामना गर्न ठूलो योगदान गर्छौं, हामीलाई समाधानको हिस्सा बनाउन आवश्यक छ ।’

रियादले बगदादबाट सार्वजनिक समर्थन पाएको छ । इराकी प्रतिनिधिले कोप-२८ शिखर सम्मेलनको एउटा बैठकमा अन्तिम सम्झौतामा जीवाश्म इन्धनलाई चरणबद्ध अन्त्य गर्ने कुनै पनि उल्लेखलाई अस्वीकार गर्ने बताएका छन् ।

जीवाश्म इन्धनको ‘चरणबद्ध कटौती’ वा ‘चरणबद्ध अन्त्य’ को सन्दर्भ समावेश गरिनु दुबई वार्तामा एउटा महत्त्वपूर्ण विन्दुको रूपमा आएको छ । वार्तामा प्रतिनिधिहरू विश्वव्यापी तापक्रमलाई रोक्नका लागि एउटा नयाँ सम्झौता गर्ने प्रयास गरिरहेका छन् ।

साउदी अरबले विश्वव्यापी अर्थतन्त्रबाट तेललाई अलग गर्न असम्भव रहेको तर्क गरेको छ । साउदी ऊर्जामन्त्रीले उनी जीवाश्म इन्धनको चरणबद्ध कटौतीका लागि बिल्कुल सहमत नहुने बताएका छन् । साउदी प्रतिनिधिले भनेका छन्, ‘हामीले विभिन्न परिस्थितिलाई ध्यानमा राखेर सोच्न आवश्यक छ, साथै हामी बाँचिरहेको संसारको वास्तविकतासँग जोडिन आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस