aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

बीमा क्षेत्रमा आर्थिक सुस्तताको निरन्तरता, एक महिनामै साढे ७९ करोडको पोलिसी ‘सरेन्डर’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ मंसिर २०८०
बीमा क्षेत्रमा आर्थिक सुस्तताको निरन्तरता, एक महिनामै साढे ७९ करोडको पोलिसी ‘सरेन्डर’

काठमाडौं । तथ्याङ्कले अर्थतन्त्र राम्रो रहेको र व्याख्या गरेजस्तो आर्थिक मन्दीको अवस्था नरहेको भन्दै सरकारले प्रतिरक्षा गरिरहेका बेला त्यसलाई खण्डन गर्ने एक रिपोर्ट सार्वजनिक भएको छ । नेपाल बीमा प्राधिकरणको पछिल्लो तथ्याङ्क हेर्दा आम जन साधारण भने आर्थिक रुपमा निकै सकसपूर्ण अवस्थामा रहेको निष्कर्ष निकाल्न सकिन्छ ।

प्राधिकरणको रिपोर्ट अनुसार एक महिनामै करिब साढे ७९ करोडको बीमा पोलिसी ‘सरेन्डर’ भएको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको कात्तिक महिनामा ७९ करोड ४९ लाख ८९ हजार रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएको हो । कात्तिकमा १४ जीवन बीमा कम्पनीको उल्लेखित रकम बराबरको बीमा समर्पणको सङ्ख्या ६ हजार ९१ रहेको छ ।

 

यसरी एक महिनामै ठूलो रकमको पोलिसी सरेन्डर गर्नु भनेको बिमित आर्थिक क्षति व्यहोर्दै थप लगानी गर्न नसकिने निष्कर्षमा पुग्नु हो । जसले गर्दा बीमा कम्पनीहरूको समेत वित्तीय स्वास्थ्यमा सङ्कट देखा पर्न सक्छ । सामान्यरुपमा नै पनि के बुझ्न सकिन्छ भने बिमितहरु बाँकी प्रिमियम भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेका छन् । त्यस्तो अवस्थामा पुग्नु भनेको आर्थिक मन्दी तल्लो तहसम्म नै पुग्यो भन्ने पनि हो ।

यो अवधिमा सबैभन्दा बढी बीमा पोलिसी सरेन्डर गर्नेमा नेपाल लाइफ इन्स्योरेन्सका बीमितहरु रहेका छन् । प्राधिकरणका अनुसार कात्तिक महिनामा नेपाल लाइफका एक हजार ७७७ बीमितले २६ करोड ४३ लाख २९ हजार रुपैयाँ बराबरको पोलिसी त्याग गरेका हुन् । 

त्यस्तै, कार्तिकमा राष्ट्रिय बीमा संस्थानको ४ करोड ६० लाख ५८ हजार रुपैयाँ बराबरको ४५० बीमा पोलिसी सरेन्डर भएको छ । यसै अवधिमा नेशनल लाइफ इन्स्योरेन्सको ६ करोड ३३ लाख ७७ हजार रुपैयाँ बराबरको ३९१ बीमा पोलिसी सरेन्डर भएको प्राधिकरणले जनाएको छ ।

यस्तै, सोही अवधिमा लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको १७ करोड ४५ लाख २१ हजार रुपैयाँको एक हजार एक हजार १५५ वटा, मेट लाइफको १ करोड ३७ लाख ८२ हजार रुपैयाँ बराबरको १६४ वटा र एसियन लाइफको १२ करोड १९ लाख १८ हजार रुपैयाँको एक हजार ९८७ वटा बीमा पोलिसी सरेन्डर भएको हो ।

आईएमई लाइफका ६५ जना बिमीतहरुले ४८ लाख ५० हजार रुपैयाँ बराबरको पोलीसी त्यागेका छन् भने सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ६० लाख ५५ हजार रुपैयाँको पोलिसी ‘सरेन्डर’ भएको छ । रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीको पनि ४० लाख ८७ हजार रुपैयाँ बराबरको ७३ वटा पोलिसी त्याग भएको छ ।

प्राधिकरणको तथ्याङ्क अनुसार बीमितहरुले सिटिजन लाइफ इन्स्योरेन्सबाट ८३ लाख २३ हजार रुपैयाँ बराबरको १५३ वटा, सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड ८४ लाख ९३ हजार रुपैयाँ बराबरको १९७ वटा पोलिसी सरेन्डर गरेका छन् । सोही अवधिमा बीमितहरुले सानिमा रिलायन्सको ९७ लाख ५ हजार रुपैयाँ बराबरको ९३ वटा, हिमालयन लाइफ इन्स्योरेन्सको ४ करोड २६ लाख ३६ हजार रुपैयाँ बराबरको ४७७ वटा र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको ६८ लाख ५५ हजार रुपैयाँ बराबरको ५८ वटा बीमा पोलिसी सरेन्डर भएको प्राधिकरणले जानकारी दिएको छ ।    

प्रतिक्रिया दिनुहोस