aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

अलैंचीको मूल्य बढ्यो, प्रतिमन ४० हजार रुपैयाँ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ मंसिर २०८०
अलैंचीको मूल्य बढ्यो, प्रतिमन ४० हजार रुपैयाँ

सङ्खुवासभा । सङ्खुवासभामा एक दशकअघिदेखि ओरालो लागेको अलैंचीको मूल्यमा यस वर्ष केही सुधार आएको छ । अलैंचीको मूल्य हाल प्रतिमन (४० किलो) रु ७० हजार पुगेको छ । झन्डै १० वर्षअघि प्रतिमन रु एक लाख २० हजारसम्म कारोबार हुँदै आएको अलैंचीको मूल्य घटेर प्रतिमन रु २५ हजारसम्म झरेको थियो । 

पछिल्लो समय नेपालबाट भारत, पाकिस्तानलगायत देशमा अलैंची निर्यात हुन थालेपछि यसको मूल्य बढेको हो । जिल्लाका किसानको मुख्य आम्दानीको स्रोत मानिने अलैंचीको मूल्य यस वर्ष सुरुवातदेखि नै बढ्दो क्रममा रहेको अलैंची व्यवसायी महासंघका जिल्ला अध्यक्ष कुमार श्रेष्ठले बताए । उत्पादन कम, माग बढी भएका कारणले अलैंचीको मूल्य वृद्धि भएको उनको भनाइ छ । यहाँ उत्पादित ९८ प्रतिशत अलैंची नेपालबाहिर निर्यात हुने गरेको तथ्याङ्क छ ।

अलैंचीको मूल्य वृद्धि भए पनि यसबाट किसानले भने प्रत्यक्ष फाइदा लिन सकेका छैनन् । सङ्खुवासभामा दुई हजार आठ सय ७१ हेक्टर क्षेत्रफलमा अलैंची खेती गरिँदै आएको छ । जिल्लामा गत वर्ष नौ सय ४० मेट्रिक टन अलैंची उत्पादन भएको थियो ।

यस वर्ष भने अलैंचीको उत्पादन घट्ने महासंघको अनुमान छ । अलैंची सङ्खुवासभा, पाँचथर, ताप्लेजुङ, इलाम, धनकुटासहित पहाडी र उच्च पहाडी जिल्लामा उत्पादन हुन्छ । व्यवसायीका अनुसार अलैंचीलाई गुणस्तरका आधारमा क, ख र ग गरी तीन तहमा विभाजन गरिएको छ ।

नेपालमा उत्पादित अलैंचीको मुख्य बजार भारत हो । अलैंची पूर्वी पहाडी जिल्लाका किसानको आम्दानीको भरपर्दो स्रोत हो । जिल्लामा करिब ४० वर्षभन्दा पुराना बोट भएकाले पनि उत्पानमा ह्रास आएको कृषि ज्ञान केन्द्र सङ्खुवासभाले जनाएको छ । अधिकांश अलैंची बगानमा पुराना बोट भएकाले उत्पादन घट्नुका साथै बोटसमेत डढ्ने गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस