aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नेपाली मूलका बर्मेलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग राखे यस्ता माग

  • बीबीसी
    बीबीसी
  • शुक्रबार, ०१ कार्तिक २०७६
नेपाली मूलका बर्मेलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग राखे यस्ता माग

म्यान्मारको राजकीय भ्रमणमा रहेकी नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाली मूलका बर्मेली नागरिकले दुई देशबीच सीधा हवाई सेवा सुरु गर्न माग गरेका छन्। शुक्रवार म्यान्मारको पे-उ-लिन नगरमा नेपालीभाषीहरूले आयोजना गरेको कार्यक्रममा सहभागी हुन पुगेकी भण्डारीसँग उक्त माग राखेको म्यान्मारस्थित नेपालीभाषी बर्मेली समुदायका नेताहरूले बताएका छन्।

अखिल म्यान्मार देशीय गोर्खा हिन्दू धार्मिक सङ्घका अध्यक्ष सागर घिमिरेका अनुसार नेपाल र म्यान्मारबीच सम्पर्क बढाउन सीधा हवाई सेवाको माग राखिएको हो।

"हामीले कार्यक्रममा उहाँलाई नेपाल र म्यान्मारबीच सीधा हवाई सेवा र म्यान्मारबाट नेपाल जानेहरूका लागि नि:शुल्क प्रवेशाज्ञाको व्यवस्था गरिदिन माग गरेका छौँ," उनले भने। नेपालीभाषीहरूले यस्तो माग राखेपछि राष्ट्रपतिले त्यसका लागि पहल गर्ने आश्वासन दिएको सङ्घका सल्लाहकार मणिलाल पौडेलले बताए।

आश्वासन

"हामीले राखेको मागबारे पहल गर्ने र नेपाल र म्यान्मारलाई सहजम रूपमा जोड्ने उहाँले बताउनु भएको छ। नेपाल र म्यान्मारबीच सीधा हवाई सेवा सुरु हुन्छ भन्ने हाम्रो आशा छ," पौडेलले भने। उनले अहिले सीधा हवाई सेवा नहुँदा त्यसको फाइदा अन्य मुलुकहरूलाई भइरहेकाले नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा नेपालले पहल गर्नुपर्ने आफूहरूले बताएको जानकारी दिए।

पौडेलका अनुसार नेपालीभाषीहरूले नेपाल भ्रमण वर्ष सफल पार्न म्यान्मारमा विभिन्न अभियान चलाउने प्रतिबद्धता पनि जनाएका छन्। नेपाली भाषी सङ्घसंस्थाका नेताहरूका अनुसार पछिल्लो जनगणना अनुसार म्यान्मारका विभिन्न क्षेत्रमा करिब दुई लाख नेपालीभाषीको बसोबास रहेको छ। राष्ट्रपति भण्डारी बुधवार म्यान्मारको राजकीय भ्रमणमा गएकी हुन्।

उनी आइतवार म्यान्मारबाट जापानका लागि प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। म्यान्मारका राष्ट्रपति विन मिन्तको निम्तोमा म्यान्मार गएकी उनले म्यान्मारको स्टेट काउन्सिलर आङ सङ सुचीलाई पनि भेटेकी छन्।

जापान भ्रमण

जापानमा भने उनी आगामी मङ्गलवार राजधानी टोकियोमा हुने त्यहाँका सम्राट नारुहितोको राज्याभिषेक समारोहमा सरिक हुने जनाइएको छ।सो क्रममा उनले जापानी प्रधानमन्त्री सिन्जो आबे र भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई पनि भेटघाट गर्ने परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बिहीबार म्यान्मारका राष्ट्रपतिले दिएको राजकीय भोजमा सहभागी भएकी थिइन्।त्यस क्रममा बोल्दै म्यान्मारका राष्ट्रपतिले नेपाल र म्यान्मार क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चमा मिलेर काम गर्ने बताएको सरकारी सञ्चारमाध्यम राष्ट्रिय समाचार समिति (रासस) ले जनाएको छ।

राससका अनुसार उनले भण्डारीको म्यान्मार भ्रमणले नेपालसँगको सम्बन्ध थप प्रगाढ हुने आशा व्यक्त गरेका छन्।

उनले म्यान्मारमा रहेका नेपालीभाषीले त्यहाँको विकासमा योगदान पुर्‍याएको भन्दै भण्डारीसँग उनीहरूको प्रशंसा पनि गरेको राससको समाचारमा उल्लेख छ।

त्यस क्रममा राष्ट्रपति भण्डारीले दुई देशका विकासका आकाङ्क्षा र चुनौती समान रहेकाले दुई देशबीच सहयोग आदानप्रदान हुनुपर्नेमा जोड दिएको राससले जनाएको छ।उनले व्यापार, पर्यटन, लगानी र संस्कृतिका क्षेत्रमा सहकार्य गरेमा महत्त्वपूर्ण उपलब्धि हासिल हुने विश्वास व्यक्त गर्दै बिम्स्टेकमा अझ बढी सहकार्य गर्न सकिने बताएको समाचारमा जनाइएको छ।

प्रतिक्रिया दिनुहोस