
काठमाडौं । रोपेर फूल गोदावरी, सजाआंै घर आँगन वरिपरि भन्ने नाराका साथ नेपालीहरूको दोस्रो महत्वपूर्ण चाड तिहारको पूर्वसन्ध्यामा शुक्रबारदेखि ललितपुरमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी शुरु भएको छ ।
फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)द्धारा आयोजित मेलाको उद्घाटन गर्दै कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणी खनालले पुष्प व्यवसायको विकास, विस्तार र प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
नेपालमा पुष्प व्यवसाय फस्टाउँदो क्रममा रहेको भएपनि अपेक्षाअनुसार गति लिन नसकेको भन्दै उनले पुष्प व्यवसायको प्रवद्र्धनका लागि गर्नुपर्ने नीतिगत र लगानीलगायत विषयसहितको प्रस्ताव लिएर आउन फयानसँग आग्रहसमेत गरेका छन् ।
उनले भने– पुष्प व्यवसायको प्रवद्र्धनका लागि सातवटै प्रदेशमा पुष्प व्यवसाय प्रवद्र्धन केन्द्र स्थापना गर्दा उपयुक्त हुन्छ वा केन्द्रमार्फत नै काम गर्न सकिन्छ, के गर्दा राम्रो हुन्छ, आवश्यक सुझाव सहित प्रस्ताव लिएर आउनुहोस्, मन्त्रालय तत्काल प्रक्रिया अघि बढाउन तयार छ, बजेटको खासै समस्या हुुने म देख्दिन ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले पुष्प व्यवसायको विकास, विस्तार र निर्यात प्रवद्र्धनका लागि सरकारले निजी क्षेत्रलाई सहयोग गर्दै आएको र आगामी दिनमा सहयोग जारी रहने बताए । उनले बाँझो रहेको कृषि भूमिमा पुष्पखेती गरी उत्पादन बढाएर निर्यात गर्न सकिने भएकोले त्यसतर्फ पनि सोच्नुपर्ने बताए ।
फयानका वरिष्ठ उपाध्यक्ष मीनबहादुर तामाङले पुष्प व्यवसायको प्रवद्र्धनका लागि विगतमा फयानले अघि सारेका कतिपय परियोजना बजेट अभावका कारण अलपत्र अवस्थामा रहेको भन्दै परियोजनाको निरन्तरताका लागि मन्त्री खनालको ध्यानाकर्षण गराए ।
उनका अनुुसार खासगरी यसअघि फयानले अघि बढाएको लालीगुरासको व्यवसायीक उत्पादन, रैथानले फूलजन्य उद्योग स्थापनालगायतका कार्य अलपत्र अवस्थामा रहेका छन् । फयानका अध्यक्ष कुमार कसजु श्रेष्ठले पछिल्लो समय सरकारले पुष्प क्षेत्रलाई वेवास्ता गरेको गुनासो गरे । तथापी कृषि तथा पशुपक्षी विकासमन्त्री खनालको प्रतिवद्धताले आशा जगाएको पनि उनले बताए ।
सो अवसरमा वनस्पति विभागकी उपमहानिर्देशक ज्योति जोशी भटट्, राष्टिय फलफूल विकास केन्द्रका निर्देशक हरिप्रसाद गुरुङ, पुष्प विकास केन्द्र गोदावरीका प्रमुख सुधिर श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठ, नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष उमेश सिंहलगायतले बोलेका थिए ।
जावलाखेलको खेल मैदानमा आयोजित १३ औ पुष्प प्रदर्शनीमा व्यावसायिक स्टल ४४, सूचनामूलक ४ र गोदावरी फूलका प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल १ सहित कुल ४९ वटा स्टल रहेका छन् । मेला संयोजक तथा फ्यानका उपाध्यक्ष शिवबहादुर खड्काले मेला ३५ हजारले अवलोकन गर्ने र करिब ५० लाख रुपैयाँबराबरको कारोबार अपेक्षा रहेको बताए ।
यसवर्षको मेलामा विभिन्न मुलुकबाट माउबोटका रुपमा आयात गरी उत्पादन विस्तार गरिएका करिब १६ नयाँ प्रजातिका गोदावरी फूलसमेत प्रदर्शनीमा राखिएको उनले जानकारी दिए । मेला कात्तिक ४ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया दिनुहोस