aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

दाइजो, अंशमा भालु र सर्प

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ कार्तिक २०७६
दाइजो, अंशमा भालु र सर्प

काठमाडौँ । विवाह कर्ममा छोरी पक्षले सामान्यतया गरगहना र लत्ताकपडा दिने चलन छ । कानुनतः दाइजो लेनदेन गर्न नपाइने भए पनि व्यवहारबाट चलन अझै हटिसकेको छैन ।

तराईमा दाइजोमा नगदसँगै सवारी साधनसम्मको माग गरिन्छ । तर, तराईमै बसोबास गर्ने मुस्लिम समुदायअन्तर्गतको नट जातिले विवाह कर्ममा दाइजोमा भालु र सर्प दिन्छन् । 

सिरहा सुखीपुर –८ का साविरले छोराहरुलाई पनि भालु नै अंश दिए । बाजेको शेषपछि अंशमा पाएको भालुबाट साविरका बुबा अबु मोहम्मद र काका फूल मोहम्मदले पुख्र्यौली पेसा अँगाल्दै चटक देखाएर गुजारा चलाए । 

अब मोहम्मदले पनि दिदीहरूका बिहेमा त्यही भालको बच्चा दाइजो दिए। अबु बृद्ध भएपछि अहिले साविरले बाजेले दाइजोमा पाएको तिनै भालुको २७ औं सन्तानबाट गुजारा चलाउँदै आएका छन्। भालुलाई उनी धुथरु भनेर बोलाउँछन् ।

एकवर्षे धुथरु भाले हो। साविरले ६ महिना तालिम दिएपछि धुथरु नाचमा सिपाल भयो। अहिले त्यसको नाचबाट हुने आम्दानीले साविरको घर चलेको छ। 'धुथरुले माला जप्ने, चर्खा काट्ने, बच्चा खेलाउने, मातेको मान्छे जसरी हिँड्ने, ब्रेक डान्ससमेत ६ प्रकारका कला प्रस्तुत गर्छ,' सिरहाको घलेटोलमा भालु नचाइरहेको भेटिएका साविरले भने, 'कला प्रदर्शन गरेपछि धुथरु आफै कचौरा बोकेर पैसा थाप्न दर्शकमाझ पुग्छ।

एक ठाउँमा आधा घण्टा धथरुको नाच हेरेपछि दर्शकले प्रशंसा गर्दै पैसा दिन्छन् । एक घण्टासम्म देखाइने नाचमा एकपटकमा ५ सयदेखि १५ सय रुपैयाँसम्म हुने गरेको साविरले सनाए। आफ र भाललाई ख्वाएर मासिक १५ हजार रुपैयाँ जोगिने गरेको छ। उनका अनुसार धूथरुले एक दिनमा ४ लिटर दूध, एक किलो पिठो र एक किलो चामलको भात खान्छ। 

साविर तीन महिनासम्म गाउँघर घुमेर कमाएको पैसा लिएर घर पुग्छन् । 'घरमा बालबच्चालाई तीन महिना पुग्ने रासन पानीको जोहो गरेपछि फेरि घरबाट निस्कन्छु' उनले भने, 'यसबाट गुजारा चलेको छ, एउटा घडेरी छ। अरू जग्गाजमिन जोड्न सकेको छैन ।

मेरो सम्पत्ति भनेकै यही धुथरु हो।' तीन पुस्तादेखि भालु नचाएर गुजारा चलाएका परिवार यतिबेला हजुरआमाले दाइजोमा पाएको भालुको सन्तान मासिने चिन्तामा छन्। कारण, उनले नचाउदै आएको भालु 'भाले' हो। यो समाचार आजको कान्तिपुर दैनिकमा छ। 
 

प्रतिक्रिया दिनुहोस