सुनसरी। १९ महिनाअघि नेपाल सरकार, ब्रिटिस सरकार र गोर्खा सत्याग्रह संघर्ष समितिका प्रतिनिधि सम्मिलित उच्चस्तरीय वार्ता कमिटीले बुझाएको प्रतिवेदनलाई नेपाल र बेलायत सरकारले बेवास्ता गरेको पुर्वगोर्खा सैनिकले आरोप लगाएका छन्।
ब्रिटिस गोर्खाका नेपालीमाथि विभेद भइरहेको भन्दै उनीहरूले आगामी कात्तिक २१ देखि काठमाडौं र लन्डनमा एकसाथ भोक-हडताल गर्ने तयारी गरेका छन्। यसबारे जानकारी दिन धरान आएका गोर्खा सत्याग्रह संघर्ष समितिका संयोजक कृष्णबहादुर राईले तीन दशकदेखिको गोर्खा आन्दोलनलाई कतैबाट सुनुवाइ नभएपछि एकसाथ भोक हड्तालमा उत्रने तयारीमा जुटेको बताए।
उनले भने, '२२ मार्च २०१८ मा नेपाल, बेलायत र संघर्ष समिति सम्मिलित कमिटीले तयार गरेको प्रतिवेदन नै सरकारलाई बुझाइसके पनि हालसम्म कार्यान्वयन गर्ने संकेत देखिएन। अब बेलायत र नेपाल सरकारलाई प्रतिवेदनका विषयमा फेरि अल्टिमेटम दिनेछौं।'
कात्तिक १८ र १९ गते काठमाडौंमा बेलायत, क्यानडा, अस्ट्रेलियासहित ५ देशका प्रधानमन्त्रीको सहभागितामा दुइदिने सम्मेलन हुँदैछ। उक्त सम्मेलनमा गोर्खा सम्बन्धी जानकारहरूको समूहले श्वेतपत्र जारी गर्दै भोक हड्तालको अल्टिमेटम दिने संयोजक राईले बताए। यो समाचार आजको कान्तिपुरमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस