aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

बहाल कर कसले तिर्ने, घरबेटी कि डेरावाल ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ कार्तिक २०७६
बहाल कर कसले तिर्ने, घरबेटी कि डेरावाल ?

काठमाडौँ। काठमाडौंको इन्द्रचोक नजिक व्यापार गर्छन् हरिराम श्रेष्ठ। पसल सुरु गरेको करिब १० वर्ष भयो। घरधनीलाई मासिक ६० हजार भाडा बुझाउँछन् । घरधनीले बहाल कर बुझाउनुपर्ने हो। तर, उनका घरबेटीले तिर्दैनन् । आफै तिर्छन्। 'घरबहाल तिरेपछि कर तिर्ने दायित्व घरधनीको हो,' उनी भन्छन्, 'तर के गर्नु तिर्दैनन्। आफैले तिर्नुपर्छ ।'

नतिरीधर छैन। उनको पसल पानमा दर्ता छ। कारोबार गर्न बहाल कर बुझाएको रसिद चाहिन्छ। 'भाडा खानेले बुझाउँदैनन्। नबुझाउँदा आफ्नो कारोबार रोकिन्छ,' उनले भने, 'साहुसँग सम्झौता गर्न खोज्दा बरु निक्लेर जान भन्छन्।' पुतलीसडकका रविन गौतमले घरबेटीसँग सम्झौता गरेका छन्। तर, सम्झौता अनुरूप व्यावहारिक रूपमा काम नहुने उनले बताए। 'सम्झौता नै फर्जी हुन्छ,' उनले भने, 'सम्झौतामा ५ हजार भाडा देखाइएको छ।

तर, उनी १० हजार भाडा तिर्छन्। 'बहाल कर घरधनीले तिर्नुपर्ने हो तर आफै बुझाउँछु', उनले भने, 'यो सबै कुरा वडा कार्यालयलाई पनि थाहा छ,' उनले भने। उनीहरूले घरबेटीबाट कर उठाउने व्यवस्था गर्नुपर्ने उनको सुझाव छ। आफूजस्तै अधिकांश भाडावाल दोहोरो मारमा परेको उनले गुनासो गरे। धेरैले कर तिर्दैनन महानगरका अधिकांश घरले संस्था, व्यापारी, डेरावाल गरी ३ किसिमबाट बहालमा लगाएका छन्।

संस्थागत र व्यापारीलाई लगाएको बहालकर तिर्ने गरे पनि डेरामा बस्नका लागि लगाइएको भाडाबापत रकमको कर अधिकांश घरधनीले तिरेका छैनन्। ०६८ सालको जनगणनाअनुसार काठमाडौं महानगर-३० मा ६ हजार ८ सय घर छन्।

वडा कार्यलयको तथ्यांकअनुसार गत आर्थिक वर्षमा १४ सय २५ जनाले बहाल कर तिरेका छन्। कार्यालयका कर्मचारी ध्रुव भट्टका अनुसार अधिकांश घरले घर बहालमा लगाएका छन्। 

तर, आधाले पनि कर तिर्दैनन्। 'बहाल कर सबैले तिर्दैनन्,' उनले भने, 'तिर्नेमा पनि व्यापारी र संस्थालाई भाडा लगाएको मात्र बुझाउँछन्। वडा कार्यालय २९ मा ७ हजार हाराहारी घर संख्या छ । गत आर्थिक वर्षमा यस वडामा २३ सय २९ जनाले मात्र बहाल कर बुझाए। बुझाउनेमा सबै संस्थागत र व्यापारिक प्रयोजनका भाडा लगाउनेहरू छन्।

महानगरका अधिकांश वडामा घरबेटीले बस्ने कोठा वा फ्ल्याट भाडामा लगाएबापत कर बुझाउँदैनन्। बरु बहाल कर बढेको छ भन्दै डेरावालासँग बर्सेनि भाडा बढाउँछन्। बहालकर बुझाउनुपर्ने अनिवार्य कानुन नभएकाले धेरैले नबुझाउने गरेको वडा कार्यालय २९ का सचिव सुवोद खड्काले बताए। 'सचिव खड्काले भने, 'आफूखुसी आएर बहाल कर बुझाउनुपर्ने हो। तर, घरबेटीले कतिसम्म गर्छन् भने भाडा लगाएको घरमा पनि भाडा लगाएको छैन भनी जनप्रतिनिधिलाई सही गराएर ल्याउँछन्।' तर, आम्दानी देखाउनुपरे कतिपय साहु बहाल कर बुझाउन वडा कार्यालय जान्छन्। यो समाचार आजको अन्नपुर्ण पोष्टमा छ ।


 

प्रतिक्रिया दिनुहोस