विरातनगर । मोरङमा सात महिनाअघि बैंकिङ लोनको प्रलोभन देखाएर भएको बलात्कारको घटनाबाट पीडित बनेकी युवती बकपत्रका दिन आइतबार अदालतमै बेहोस भएर ढलिन्।
पीडक पक्षको पैसामा मिल्न अत्यधिक दबाबका कारण पीडासँगै मानसिक तनाव झेल्दै आएकी उनी आफूलाई सम्हाल्न नसक्दा बेहोस भइन्। उनको अहिले कोसी अस्पतालमा उपचार भइरहेको छ।
पीडक पक्षले पैसाको लोभ देखाउँदै दिएको विभिन्न दबाब र धम्कीका कारण उत्पन्न तनाव थेग्न नसकेर बकपत्रका दिन युवती अदालतमै बेहोस भएको पीडित पक्षको दाबी छ । घटनाअनुसार ०७५ साल चैतमा पाँच लाख रुपैयाँ ऋण माग गर्न विराटनगर घर भएकी युवती मोरङको कर्सियास्थित नेपाल-बंगलादेश बैंकका शाखा कार्यालयमा पुगेकी थिइन्। त्यस क्रममा बैंकका शाखा प्रबन्धक झापाको बिर्तामोड नगरपालिका-५ पञ्चमुखी टोल घर भएका ४५ वर्षीय अमित बास्तोलाले ऋणको प्रलोभन देखाएर बलात्कार गरेको पीडित युवतीले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ।
प्रहरी अनुसन्धानबाट चैत २२ गते मोरङको रंगेली नगरपालिका-७ मा रहेको मेलिना होटल र चैत २६ गते सुनसरीको इटहरीमा रहेको बुद्ध गेस्ट हाउसमा बलात्कार गरेको खुलेको छ। ऋणको प्रक्रिया मिलाउने बहानामा बोलाएर शाखा प्रबन्धकले बलात्कार गरेको भन्दै पीडित गए पनि त्यतिबेला राजाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको थियो। यो समाचार आजको अन्नपूण पोस्ट्मा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस