
सभामुखको हस्ताक्षर हुन नसक्दा एक महिनाभन्दा अघि संसद्बाट पारित भएका पाँचवटा महत्वपूर्ण विधेयकहरू प्रमाणिकरण हुन नसकेको संसद् सचिवालयले जनाएको छ।
संसद्बाट पारित विधेयकहरू प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पठाउन सभामुखले नै प्रमाणित गर्नुपर्ने संवैधानिक व्यवस्था भएकाले नयाँ सभामुख नआएसम्म केही गर्न नसकिने संसद् सचिवालयका अधिकारीको भनाइ छ।
कतिपय महत्वपूर्ण ठानिएका विधेयकहरू संसद्को वर्षे अधिवेशनबाट पारित गर्ने भन्दै अधिवेशन सकिनु अगाडि राष्ट्रियसभा र प्रतिनिधिसभाले धमाधम ती विधेयकहरू पारित गरेका थिए।
विधेयक पारित भएसँगै ती ऐन बन्ने र नयाँ व्यवस्था लागु हुने अपेक्षा गरिएको थियो। तर असोज १ र २ गते पारित भएका पाँचवटा विधेयक हालसम्म प्रमाणिकरण नहुँदा ती कार्यान्वयनमा आउन सकेका छैनन्। पारित विधेयकहरू संसद्मै थन्किएको अधिकारीहरू बताउँछन्।
ती विधेयक सभामुखले प्रमाणित गर्न बाँकी भएकाले प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालय नपठाइएको संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए।
उनले भने, "अधिवेशन अन्त्य हुँदाका अवस्थामा दुवै सदनबाट पाँचवटा विधेयक पारित भएका थिए तर सभामुखबाट हस्ताक्षर नहुँदा अर्को व्यवस्था नहुँदासम्म थाती रहेको अवस्था सिर्जना भएको छ।"
सोही अवधिमा पारित अन्य चारवटा विधेयक भने प्रमाणिकरण भइसकेका छन्।
यौन दुर्व्यवहारको आरोप लागेपछि विधेयक पारित भएको १२ दिनपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका थिए। उनले ती पाँचवटा विधेयकमा हस्ताक्षर गरेका थिएनन्।
प्रतिक्रिया दिनुहोस