काठमाडौं । नेपाल मेडिकल काउन्सिलले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका एमबीबीएस र बीडीएसको सिट सङ्ख्या निर्धारण गरेको छ । चिकित्सा शिक्षा आयोगको विशेष आग्रहमा काउन्सिलले नयाँ शैक्षिकसत्र २०७६/७७ लागि मेडिकल कलेजका लागि नयाँ सिट निर्धारण गरेको हो ।
काउन्सिलले काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिट सङ्ख्या निर्धारण गरेको जनाएको छ । काउन्सिलका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान (एमबीबीएस १०० र बीडीएस ५०) पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (एमबीबीएस ६५), काठमाडौँ स्कूल अफ मेडिसीन धुलिखेल (एमबीबीएस ८५ र बीडीएस ५०), नोबेल मेडिकल कलेज (एमबीबीएस १०० र बीडीएस ३५) ले सिट प्राप्त गरेका छन् ।
यसैगरी विराट मेडिकल कलेज (एमबीबीएस ७५), काठमाडौँ मेडिकल कलेज (एमबीबीएस १०० र बीडीएस ५०), नेपाल मेडिकल कलेज ( एमबीबीएस १०० र बीडीएस ५०), कलेज अफ मेडिकल साइन्सेस ( एमबीबीएस १०० र बीडीएस ५०) र लुम्बिनी मेडिकल कलेज ( एमबीबीएस १००), नेपालगञ्ज मेडिकल कलेज (एमबीबीएस १००), मनिपाल मेडिकल कलेज (एमबीबीएस १००), देवदह मेडिकल कलेज ( एमबीबीएस ५०) र कान्तिपुर डेन्टल कलेज (बीडीएस ५०) को सिट सङ्ख्या निर्धारण गरेको काउन्सिलले जनाएको छ ।
चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहको नयाँ शुल्क निर्धारण गरेको छ। आयोगको असोज १ र ३० गतेको बसेको बैठकले नयाँ शैक्षिकसत्र २०७६/७७ का लागि चिकित्सा शिक्षाको स्नातक तहअन्तर्गत एमबीबीएस र बीडीएस कार्यक्रमका लागि फरक–फरक शुल्क निर्धारण गरेको थियो । उपत्यकाभित्र एमबीबीएस अध्ययन गर्न ४० लाख २३ हजार २५० र उपत्यका बाहिर ४४ लाख ३६ हजार २५ शुल्क निर्धारण गरेको छ । ।
त्यसैगरी बीडीएसका लागि उपत्यकाभित्र र बाहिर २० लाख १९ हजार ५८० तोकिएको विज्ञप्तिमा जनाइएको छ । यसअघि एमबीबीएस तहका लागि उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यका बाहिर रु ४२ लाख ४५ हजार तथा बीडीएसका लागि उपत्यकाभित्र १९ लाख ३२ हजार ६१२ शुल्क रहेको थियो ।
प्रतिक्रिया दिनुहोस