aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

प्रहरीले कुमार पौडेलको हत्या गरेको आयोगको निष्कर्ष

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०५ कार्तिक २०७६
प्रहरीले कुमार पौडेलको हत्या गरेको आयोगको निष्कर्ष

काठमाडौं । मानव अधिकार आयोगले नेत्रविक्रम चन्द समूहका सर्लाही इन्चार्ज कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर गोली हानी हत्या गरेको निष्कर्ष निकाल्दै संलग्नलाई कारबाही सिफारिस गरेको छ।

आयोगले आदेश दिने उच्च प्रहरी अधिकारीमाथि पनि छानबिन गरी कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। प्रहरीको दाबीजस्तो दोहोरो भिडन्त वा आत्मरक्षाको स्थिति पुष्टि नभएको र घटनाको प्रकृति तथा संकलित प्रमाणसमेतबाट नियन्त्रणमा लिएर मारेको देखिएको आयोगले जनाएको छ। प्रहरीले पौडेललाई नियन्त्रणमा लिएपछि ९ राउन्ड गोली हानेको
आयोगले उल्लेख गरेको छ।

आयोग पदाधिकारीको सोमबार बसेको बैठकले आफ्नो छानबिन प्रतिवेदन आधारमा प्रत्यक्ष संलग्न तथा कमान्डरसमेत रहेका प्रहरी निरीक्षक कृष्णदेवप्रसाद साह, प्रहरी हवल्दारद्वय श्रीविनोद साह र सत्यनारायण मिश्रलाई तत्काल निलम्बन गरी फौजदारी अभियोगमा मुद्दा चलाउन सरकारलाई सिफारिस गरेको छ।

आयोगका सचिव वेद भट्टराईद्वारा सोमबार जारी विज्ञप्ति अनुसार प्रहरी निरीक्षक किरणप्रसाद न्यौपाने र प्रहरी नायब निरीक्षक सूर्यकुमार कार्कीलाई मुचुल्का गर्दा जुटि गरेकाले सचेत गराउन सरकार र नेपाल प्रहरीलाई सिफारिस गरिएको छ । 

आयोगले प्रहरीलाई निर्देशन दिने तालुक निकायका पदाधिकारी तथा कर्मचारी, आदेश दिने अधिकारी तथा दुरुत्साहन गर्ने व्यक्तिमाथि समेत अनुसन्धान गरी कानुनी दायरामा ल्याई कानुनबमोजिम कारबाही गर्न सिफारिस गरेको छ। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस