aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

डीभी भर्न राहदानी अनिवार्य भएसँगै राहदानी विभागमा युवाको ओइरो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०५ कार्तिक २०७६
डीभी भर्न राहदानी अनिवार्य भएसँगै राहदानी विभागमा युवाको ओइरो

काठमाडौं । बसोबासकै लागि अमेरिका जान पाइने अवसरका रूपमा चिनिएको डाइभसिटी भिसा (डीभी) को आवेदन फर्म खुल्नासाथै उपत्यकाबाहिरका नेपाली सेवाग्राही राहदानी लिन काठमाडौं ओइरिएका छन ।

राहदानी विभागले सधैंको भन्दा झन्डै पाँच गुणा राहदानी आवेदन भर्ने र उत्पादन गर्ने अवस्था आएपछि स्थिति अस्तव्यस्त बनेको छ।

गत असोज १५ मा डीभी आवेदन खुलेपछि काठमाडौं आएर तत्कालै राहदानी (एमआरपी) झिक्नेको संख्या ह्वात्तै बढेको हो । अरू बेला जिल्ला संकलन केन्द्रबाट आउनेसहित दैनिक बढीमा आठ सय एमआरपी आवेदक रहने गरेकामा पछिल्ला दिनमा झन्डै चार हजार जनाले आवेदन भरिरहेका छन् । 

यसमा पनि एक तिहाइ जति १५ हजार रुपैयाँ शुल्क तिरेर एकैदिनमा एमआरपी लिन चाहने छन् । विभागका अनुसार डीभी आवेदन खुल्नुअघि गत असोज १४ मा नारायणहिटीस्थित राहदानी विभाग आएर एमआरपी आवेदन भर्नेको संख्या ४ सय ८१ जना थियो, कात्तिक ३ मा यो संख्या २ हजार ६ सय ६२ पुगेको छ।

अमेरिकी सरकारले खुलाएको डीभी आवेदनमा यसपटक एमआरपी नम्बर अनिवार्य हुनैपर्ने प्रावधान थपिएपछि तत्काल डीभी भर्ने हतारोमा सेवाग्राही काठमाडौं आएका हुन्। विभागका महानिर्देशक रामकाजी खड्काका अनुसार विभागले परराष्ट्रबाट १० जना कर्मचारी काजमा बोलाउनुका साथै काउन्टरहरू थप गरेर पनि राति ९ बजेसम्म आवेदन फर्म बुझ्ने सेवा दिइरहेको छ । हामीले दिने नियमित सेवाले झन्डै थेग्न नसकेको अवस्था छ तैपनि समय बढाएर आवेदन बुझिरहेका छौं,’ उनले भने। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस