aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 
मनोमानी शुल्क उठाउँदै निजी विद्यालय, शैक्षिक सत्र सुरुसँगै अभिभावक तनावमा

मनोमानी शुल्क उठाउँदै निजी विद्यालय, शैक्षिक सत्र सुरुसँगै अभिभावक तनावमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ बैशाख २०७६
मनोमानी शुल्क उठाउँदै निजी विद्यालय, शैक्षिक सत्र सुरुसँगै अभिभावक तनावमा

काठमाडौं  । ‘ठूला र राम्रा’ भनिएका निजी विद्यालयमा छोराछोरी भर्ना गर्न शहरी क्षेत्रका अभिभावकले हरेक वर्ष सकसको अनुभव गर्छन् । भर्नाका लागि प्रवेश परीक्षा दिनुपर्ने, शैक्षिकसत्र शुरुअगावै महङ्गो शुल्क तिरेर भर्ना गर्नुपर्ने र कतिपयमा भनेजति पैसा तिर्दा पनि भर्ना नपाइने समस्या उनीहरुले झेल्दै आएका छन् ।

आफूखुशी शुल्क वृद्धिसहित अधिकांश निजी (संस्थागत) विद्यालयमा भर्ना भएपछि अभिभावक र विद्यार्थी असन्तुष्ट भए पनि उनीहरु सामुदायिक विद्यालयमा भर नगरी महङ्गा निजी विद्यालयमा छोराछोरी पढाउन बाध्य छन् । भर्ना सकिएपछि अभिभावक र विद्यार्थीका सङ्घ सङ्गठनले शुल्क वृद्धिको विरोध जनाउँछन् ।

विरोधलाई सम्बोधनको औपचारिकता पूरा गर्न सम्बन्धित सरकार वा निकायले त्यस्तो शुल्क फिर्ताका लागि निर्देशन दिन्छन् । निजी विद्यालयले त्यसलाई सुनेको नसुन्यै गर्छन् । पढाइ शुरु हुन्छ । वार्षिक परीक्षा आउँछ । फेरि अर्को वर्षको नयाँ शैक्षिक सत्रको चटारोसँगै शुल्कका नाममा विरोध र सहमतिको शृङ्खला दोहोरिन्छ ।

निजी विद्यालयको सङ्ख्या बढी भएको काठमाडौँ महानगरपालिकाको शिक्षा समितिले यस शैक्षिकसत्रका लागि वृद्धि गरिएको शुल्क फिर्ता गर्न यही वैशाख ११ गते निर्देशन दिने निर्णय गरेको थियो । अधिकांश विद्यालयले भर्ना पूरा गरिसकेकाले सो शुल्क फिर्ता हुने सम्भावना देखिँदैन । विगतमा पनि भर्ना सकिएपछि विद्यार्थी सङ्गठनले आन्दोलन गरेपछि शिक्षा मन्त्रालयसँगको सहमतिमा आफूखुशी बढाइएको शुल्क आगामी महीनाको शुल्कमा समायोजन गर्ने भनिए पनि कार्यान्वयन भएको थिएन ।

कामपाको शिक्षा विभागले क, ख, ग र घ वर्गका आधारमा शुल्क निर्धारणका लागि केन्द्र सरकारको विगतको मापदण्डका आधारलाई पछ्याए पनि शुल्कको अनुगमन भई फिर्ताको प्रक्रिया आरम्भ भएको छैन । कामपाका शिक्षा विभाग प्रमुख निर्मला केसीले सम्बन्धित पक्षको परामर्शमै निर्देशन भएकाले वृद्धि भएको शुल्क फिर्ता हुने जिकिर गर्नुभयो । निजी विद्यालयले वार्षिक शुल्क, ट्युसन शुल्क, खाना, बस शुल्क, परीक्षा शुल्क र विविध शीर्षकमा मनोमानी शुल्क लिँदै आएका छन् ।

कामपाले यस शैक्षिकसत्र २०७६ का लागि कक्षा १ देखि ५ सम्म ‘घ’ वर्गमा पर्ने विद्यालयको अधिकतम मासिक शुल्क रु एक हजार ६३०, ‘ग’ वर्गको रु दुई हजार, ‘ख’ वर्गको रु दुई हजार ४१८ र ‘क’ वर्गको रु दुई हजार, ८१२ निर्धारण गरेको थियो । कक्षा ६ देखि ८ सम्म ‘घ’ वर्गको अधिकतम शुल्क रु एक हजार ९०१, ‘ग’ वर्गको रु दुई हजार ३५१, ‘ख’ वर्गको रु दुई हजार ८०१ र ‘क’ वर्गको रु तीन हजार २५१ कायम गरेको छ ।

कक्षा ९ र १० मा ‘घ’ वर्गको विद्यालयले रु तीन हजार ५३७ अधिकतम् शुल्क लिन पाउने निर्णय गरिएको थियो । ‘ग’ वर्गका लागि तीन हजार ४९, ‘ख’ वर्गका लागि रु तीन हजार, ७६२ र ‘क’ वर्गका लागि रु चार ३७३ अधिकतम शुल्क तोकिएको छ तर ठूला विद्यालयले यसको दोब्बर तेब्बरसम्म शुल्क लिइरहेका छन् । गोरखापत्र दैनिकबाट । 

प्रतिक्रिया दिनुहोस