
काठमाडौं । तिहारमा प्रयोग हुने सरसामाग्री र भाई मसला किनमेल गर्न ग्राहक व्यस्त देखिने बजारमा अहिले चहलपहल घटेको छ । व्यापारी पनि सामान दिन भ्याइनभ्याई हुनुपर्ने बेला पसलमा ग्राहक कुरेर बसेका छन् ।
काठमाडौंको असनमा तीन पुस्तादेखि भाईमसला बिक्रि गदै आएका सजिव बज्राचार्य चाहिं व्यापारबाट निराश देखिएका छन् । बज्रचार्य भन्छन्, ‘व्यवसाय छोडौ भने पुस्तौंदेखि गर्दै आएको व्यावसाय हो । अब म छोरालाई भने यो व्यावसायमा लाग भनेर कर गर्दिन।'
'मेरो त बाजेपनि भाइमसला बेच्थे, भाइमसला बेचेरै बिते। बुवापनि भाइ मसला बेच्थे, उनि पनि बिते । अहिले म र मेरो परिवार पनि यहि पुस्तैनी व्यापार गरिरहेका छाैं', बज्राचार्यले भने ।
भाइमसलाको ब्यापारले संतोषजनक आम्दानी पनि नहुने उनले बताए । बज्राचार्यले भने, ‘पहिले एक मिनेटपनि कसैसँग बोल्ने फुर्सद हुदैन थियो अहिले भने व्यापारमा फाइदा नै छैन । भाईमसलामा चाहिने सम्पूर्ण साम्रगी विदेशबाट आउने गर्छ । हामीले यता प्याकिङ गरेर बेच्दा टुक्रा भएर खेर जान्छ । व्यावसायमा फाइदा नै छैन ।
असनमा रहेको उनको पसलमा भाइमसलाका साइज साइजका प्याकेट छन् । पचास रुपैंयादेखी २५ सय रुपैयासम्मको भाइमसला प्याकेट बनाएर बिक्रिका लागि राखेका उनले तिहारको समयमा मात्रै मसलाको तयारी गर्ने गरेको बताए ।
तिहारका लागि मात्रै भनेर २० लाखको सामान मगाएको उनले जानकारी दिए । व्यवसायमा फाइदाभन्दा पनि आफ्नो पुख्र्यौंली व्यापार भएकाले धान्दै आएको उनले बताए । आफ्नो व्यवसाय नै यहि भएकाले दशै/तिहार भन्दा अन्य समयमा पनि होलसेल मूल्यमा काजु, बदाम, किसमिस लगायतका सामग्री नै उनि बेच्ने गर्छन् । जुन वस्तुहरु भाइमसलामा प्रयोग हुने सामाग्री हुन् ।
उनको पसलमा आउने अधिकांश ग्राहकहरुको चाहिं भाइमसला महँगो भएको गुनासो सुनिन्थ्यो । 'कति बढेको भाइमसलाको भाऊ ?' दुखेसो गर्ने ग्राहकलाई सान्त्वना दिदै बज्राचार्य भन्छन्वि, 'बिदेशबाट आउने समान अनि कहाँबाट सस्तो हुन्छ त ?'
नेपाली बजारमा भारत, अमेरिका, पाकिस्तान, भियतनाम लगायतका देशबाट भाईमसलामा प्रयोग हुने सामग्री आउने गरेको छ । तिहारका लागि भारतबाट ओखर, नरिवल, अनि अमेरिकाबाट बदाम, पेस्ता लगायतका ड्राईफुड ठुलो मात्रामा आयात हुने गरेको छ । नेपालमा नै उत्पादन हुने वस्तु नहुनाले यसको बजार मूल्य हरेक वर्ष बढ्ने गरेको छ । संजिव भन्छन्, 'एउटा ओखर थियो, नेपाल मै उत्पादन हुने त्यो पनि भारतको भन्दा महंगो पर्न थाल्यो त्यसमाथि नेपाली ओखरको फिनिसिङ पनि राम्रो छैन ।'
तिहार नजिकिँदै गर्दा बजारमा भाईमसलाको मुल्य व्यापारीहरुले आफु खुसी राखेर बिक्री गरिहेको खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले बताए । 'ग्राहकहरु गुणस्तरीय समान भन्दा आर्कषक देखिने तिर हेर्छन् तर त्यसको असर स्वास्थ्यमा आउछ भन्ने ख्याल नै गर्दैनन्न' श्रेष्ठले चिन्ता व्यक्त गरे। तिहारमा चाहिने भाइमसलाको प्याकिङ आफैले गरेर भाइहरुलाई उपहार दिने गर्दा राम्रो हुने उनको सुझाव सहितको तर्क छ ।
हुनपनि बजारमा टोकरी जस्तो देखिने भाँडोमा टल्किने पेपरले आर्कषक ढंगले छोपेर व्यापारीहरुले बढी मुल्य असुल गरिराखेका छन्। 'सुन्दरतालाई प्राथमिकता दिएर ग्राहकहरु नोक्सानीको सिकार बनिरहेको श्रेष्ठको निष्कर्ष छ । बजारमा भाइमसला खासै महंगो नभएको बताउंदै उनले समानको गुणस्तर हेरेर मात्र किन्न आग्रह गरे।
आयात मै निर्भर
भाइटीकामा चाहिने मालादेखि भाइमसला समेतमा अर्काकै देशमा निर्भर हुनुपर्ने अवस्था रहेको देखिन्छ। भन्सार विभागको तथ्याकं अनुसार चालु आर्थिक बर्षको दुई महिनामा मात्र भारतबाट १ लाख ४९ हजार ५६८ किलोग्राम र भियतनामबाट ४६ हजार ९४८ किलोग्राम काजु आयात भएको छ । जसको मुल्य १६ करोड ३ लाख १८ हजार रुपैयाँ रहेको छ।
त्यस्तै, बदाम भारत र अमेरिकाबाट आयात हुने गरेको छ । दुई महिनाको अवधिमा लगभग १ लाख ७३ हजार किलोग्राम बदाम आयात भएको देखिन्छ। अमेरिकाबाट मात्रै १४ करोड ३८ लाख ५९ हजार रुपैयाँको र भारतबाट ४६ लाख ६० हजारको बदाम आयात भएको भन्सार विभागको तथ्याकंले देखाउछ ।
त्यसैगरी, भारतबाट सुपारी, किसमिस र नरिवल; चीन र अमेरिकाबाट ओखर; ल्वाङ, जेन्सीवाल र छोकडा पाकिस्तानबाट आयात हुने गरेको विभागको तथ्याकंले देखाएको छ ।
तिहारको समयमा दाजुभाईलाई उपहार स्वरुप दिने विशेष मसलाको निकै खपत हुन्छ । यो बेला बढी मसला बिक्रि हुने भएकाले कतिपय व्यापारीले पुराना मसला समेत नयाँमा मिसाउँदै बेच्ने गरेका छन् । भाइमसलामा उचित अनुगमनको अभाव र व्यापारीले आफुुखुसी मूल्य राखेका कारण भाईमसलाको मूल्य बढी भएको सर्वसाधरणको गुनासो रहेको छ ।
प्रतिक्रिया दिनुहोस