काठमाडौं । तिहारलगतै नेपाल धितोपत्र बोर्डले अध्यक्ष पाउने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडा विश्व बैंक समूह तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बैठकमा भाग लिएर यसै साता नेपाल फर्किदै छन् । उनी नेपाल आएलगतै धितोपत्र बोर्डको अध्यक्ष छानिने सम्भावना बढेको अर्थ मन्त्रालय स्रोतको भनाइ छ ।
तिहारलगत्तै बोर्डले अध्यक्ष पाउनेछ, अर्थ मन्त्रालयका स्रोतले बतायो । बोर्डको अध्यक्ष हुने दौडमा राष्ट्र बैंकबाट अवकास भएका बढी आकांक्षी भएको अर्थ मन्त्रालयका एक अधिकारीले बताए । राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक बोर्डको अध्यक्ष हुने दौडमा छन् । राष्ट्र बैंकबाट रिटायर्ड भएका बासुदेव अधिकारी पनि बोर्डको अध्यक्षका लागि दौडमा लगेका छन् । उनी गभर्नर पदमा पनि उत्तिकै आकांक्षी देखिएका छन् । गभर्नर नभए बोर्डको अध्यक्ष हुनुपर्छ भन्दै हिँडेका छन् ।
यसैगरी नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरबाट अवकास पाएका महाप्रसाद अधिकारी पनि लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत छाडेर गभर्नर वा धितोपत्र बोर्डको अध्यक्ष बन्ने चक्करमा लागेको स्रोतको भनाइ छ । राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक भीष्मराज ढुंगाना पनि अध्यक्ष पदको दौडमा लागेका छन् ।
बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीको कार्यकाल सकिएसँगै बोर्डको अध्यक्ष पद खाली भएको छ । बोर्डको अध्यक्ष छान्ने समयमा अर्थमन्त्री खतिवडा विदेश गएपछि पद पूर्तिमा ढिलाइ भएको हो । यही साता अर्थमन्न्त्री खतिवडा आउने र बोर्डको अध्यक्ष छान्ने काम हुने अर्थ मन्त्रालय स्रोतको भनाइ छ ।
बोर्डको अध्यक्ष छनोटका लागि अर्थ मन्त्रालयले समिति गठन गर्ने कानुनी व्यवस्था छ । उक्त समितिले अध्यक्षका लागि उपयुक्त व्यक्तिको छनोट गरेपछि अर्थमन्त्रीले मन्त्रिपरिषद्मा उक्त प्रस्ताव लैजाने र मन्त्रिपरिषद्ले बोर्डको अध्यक्ष चयन गर्ने व्यवस्था छ । तर, अर्थमन्त्री नै बिदेश गएपछि बोर्डले अध्यक्ष नसकेको हो ।
अध्यक्ष पदका लागि दौडाहामा आधा दर्जनभन्दा बढी व्यक्ति लागेका छन् । उक्त स्थानका लागि नेताको आर्शीवाद थाप्न शुरु भएको लामो समय भएको छ । नेताको जसले बढी आर्शीवाद पाउँछ त्यही व्यक्ति धितोपत्र बोर्डको अध्यक्ष हुने पक्का छ । बोर्डका विज्ञ सदस्य भीष्मराज ढुंगाना र नेपाल स्टक एक्चेन्जका पूर्वअध्यक्ष टंक पनेरु अध्यक्ष बन्ने लाइनको अग्रपंक्तिमा रहेको बताइछ । राजनीतिक पहुँचका आधारमा उनीहरु अगाडि देखिएका छन् ।
अनुभव र कार्यक्षमताका हिसाबले भने बोर्डमै रहेर काम गर्दै आएका व्यक्ति अग्रपंक्तिमा छन् । बोर्डमै रहेर लामो अनुभव हसिल गरेकाmहरु परिष्टनाथ पौडेल, निरज गिरी, डा.नवराज अधिकारी अध्यक्ष बन्नका लागि सक्षम देखिन्छन् । पौडेल र गिरी बोर्डकै कार्यकारी निर्देशकमा कार्यरत छन् । दुवै कार्यकारी निर्देशकले लामो समय बोर्डमै कार्य गरेको अनुभव भएकाले अध्यक्षको दाबी गरेका हुन् ।
त्यस्तै, बोर्डकै निमित्त कार्यकारी निर्देशक डा.नवराज अधिकारीले पनि आफू अध्यक्षका लागि उपयुक्त व्यक्ति भएको दाबी गर्दै आएका छन् । कार्य क्षमताका हिसाबले उत्कृष्ट प्रदर्शन गर्दै आएका अधिकारी बोर्ड हाक्न सक्ने क्षमता राख्छन् । बोर्डका विज्ञ सदस्य ढुंगाना र नेप्सेका पूर्वअध्यक्ष पनेरुलाई उच्च नेताको आर्शीबाद रहेको बताइन्छ । ढुंगानालाई बोर्डको अध्यक्ष बनाउने गरी विज्ञ सदस्यमा नियुक्ति गरिएको भन्ने पनि एकाथरीको भनाइ छ । उनलाई अध्यक्ष बनाउन राष्ट्रपति विद्यादेवी भण्डारी समेत लागि परेको बुझिएको छ ।
ढुंगाना राष्ट्रपति भण्डारीनिकट मानिन्छन् । राष्ट्रपति भण्डारीकै सिफारिसमा उनी केही महिना अघि बोर्डको विज्ञ सदस्य नियुक्त भएका हुन् । प्रधानमन्त्री केपी ओलीनिकट मानिने अर्थमन्त्री खतिवडाले धितोपत्र बोर्डको आगामी अध्यक्ष बनाउने गरी ढुंगानालाई विज्ञ सदस्यमा नियुक्त गरेको स्रोतको भनाइ छ ।बोर्डको विज्ञ सदस्य गत चैतदेखि खाली थियो । निलबहदुर सारु मगर अवकाश भएको ६ महिनापछि राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक ढुंगाना नियुक्ति गरिएको थियो । मगर पनि बोर्डको अध्यक्षका दौडधुपमा लागेको बुझिएको छ ।
यसअघि ढुंगाना राष्ट्र बैंकको तर्फबाट पदेन सदस्यका रुपमा नेपाल स्टक एक्सचेञ्जको सञ्चालक समिति सदस्य पनि थिए । त्यसैले पनि अर्थमन्त्री खतिवडालाई ढुंगानालाई विज्ञ सदस्यमा नियुक्त गर्न सहज भएको थियो । ढुंगानाले लामो समय राष्ट्र बैंकको विदेशी विनिमय विभागको प्रमुख भएर काम गरेका थिए । उनी एक वर्षअघि राष्ट्र बैंकबाट अवकाश भएका थिए ।
बोर्डको अध्यक्ष कसलाई बनाउने भन्ने चलखेल शुरु भएको धेरै भइसकेको छ । सत्तापक्ष दलभित्र आ आफ्नो गुट नजिकका व्यक्तिलाई अध्यक्ष बनाउनुपर्छ भन्नेहरुबीच तिब्र लविङ शुरु भएको छ । बोर्डको अध्यक्ष बन्ने लिगलिगे दौडमा कसको पल्लाभारी हुने त्यो भने अहिले नै भन्न नसकिने बोर्डका एक कर्मचारीले बताए । बोर्डको अध्यक्ष बन्नका लागि नेताको आर्शीवाद थाप्न दौड्नेको संख्या दिन प्रतिदिन बढनै गएको छ ।
प्रतिक्रिया दिनुहोस