
एजेन्सी । भारतको हरियाणास्थित कालानवाली गाउँमा एक परिवार साँढेले कतिबेला गोब्य्राउला भनी प्रतीक्षा गरिरहेको छ । साँढेले लगभग ४० ग्राम सुनको गरगहना निलेकाले गोब्य्राउने प्रतीक्षा भइरहेको हो ।
परिवारले साँढेलाई विगत तीन दिनदेखि चारा खुवाइरहेका छन् । ‘हामीहरू सुन लिनका लागि गोबर हेरिरहेका छौं । यो फोहरी काम हो तर कुनै अर्को विकल्प पनि त छैन,’ जनक राजले बताए । जनककी पत्नी र बुहारीको गरगहना साँढेले निलेको हो ।
जनक व्यापारी हुन् र उनकी पत्नी र बुहारी एउटा विवाह समारोहमा सहभागी भएर फर्किएपछि गरगहना भान्सामा एक कचौरामा राखे । ‘मेरी बूढी आमाले त्यही कचौरमा तरकारी काट्नुभयो र बाँकी रहेको फोहर फालिदिनुभयो,’ उनले बताए ।
आमाले कचौरामा बाँकी रहेका टुक्राटाक्री घरबाहिर फालिदिएपछि बाहिर रहेको साँढेले खाइदिएको थियो । आमाले कानको रिङ भुइँमा देखेपछि घरभित्र ल्याएको जनकले बताए ।
त्यसपछि साँढे अन्तै गयो । परिवारका सदस्यहरूले साँढेले गहना निलेको थाहा पाएपछि त्यसलाई खोज्न यताउता दौडिए । सीसीटीभी हेरेर उनीहरूले साँढे चिने अनि त्यसलाई पाँच घन्टामा खोजिछाडे । अहिले उनीहरूले साँढेलाई घरनजिकको खाली जग्गामा बाँधेर राखेका छन् र त्यसलाई चारा खुवाउँदै गोबर जाँचेर बसेका छन् ।
सुनका लागि साँढेलाई कसैले मारिदेला भन्ने डर पालेर उनीहरूले गोठ भएको आफन्तकहाँ साँढे पठाउने योजना बनाएका छन् ।
पशुचिकित्सक रविन्दर शर्माले साँढेलाई पशु चिकित्सालय लगेर एक्सरे गराउने सल्लाह दिएमा छन् । त्यसपछि शल्यक्रिया गरेर गरगहना निकाल्न सकिने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस