aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

विराटनगर भन्सार कार्यालयबाट लक्ष्य भन्दा कम राजश्व सङ्कलन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ कार्तिक २०७६
विराटनगर भन्सार कार्यालयबाट लक्ष्य भन्दा कम राजश्व सङ्कलन

विराटनगर । विराटनगर भन्सार कार्यालयले चालू आर्थिक वर्षको पहिलो तीन महीनाको अवधिमा कूल रु आठ अर्ब ९९ करोड ३८ लाख नौ हजार राजश्व सङ्कलन गरेको छ । यो लक्ष्यको तुलनामा रु चार अर्ब ९४ करोड ९३ लाख ५० हजार कमी हो ।

उक्त अवधिका लागि विराटनगर भन्सार कार्यालयलाई कूल रु १३ अर्ब ९४ करोड ३१ लाख ५९ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य तोकिएको थियो । गत वर्ष सोही अवधिमा रु १० अर्ब पाँच करोड २९ लाख ९५ हजार राजश्व सङ्कलन भएको थियो ।

गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो तीन महिनामा रु एक अर्ब ५७ करोड ५६ लाख ४० हजार राजश्व कम उठेको विराटनगर भन्सार कार्यालयका भन्सार अधिकृत मणिराम पौडेलले जानकारी दिए ।

चालू आवमा सङ्कलित राजश्वमा भन्सार महशुलतर्फ रु तीन अर्ब ३५ करोड ९६ लाख ८९ हजार, मूल्यअभिवृद्धि करतर्फ रु चार अर्ब ४२ करोड १४ लाख ६७ हजार र अन्तःशुल्कतर्फ रु ६९ करोड ६२ लाख छन् ।

गएको वर्षमा सो अवधिमा भन्सार महशुल रु चार अर्ब ४३ करोड ६० लाख तीन हजार, मूल्यअभिवृद्धि कर रु पाँच अर्ब २२ करोड ३८ लाख ४८ हजार र अन्तःशुल्क रु ६९ करोड ३१ लाख ४५ हजार राजश्व सङ्कलन गरेको विराटनगर भन्सार कार्यालयले जनाएको छ । 

भन्सार असुलीको प्रगति हेर्दा चालू आवको साउन महीनामा ६८ दशमलव १० प्रतिशत, भदौ महीनामा ६५ दशमलव ९९ प्रतिशत र असोज महीनामा ४९ दशमलव ७६ प्रतिशत भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस