aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

बल्गेरियाबाट आएको लरी कन्टेनरभित्र ३९ वटा शव फेला

  • बीबीसी
    बीबीसी
  • बुधबार, ०६ कार्तिक २०७६
बल्गेरियाबाट आएको लरी कन्टेनरभित्र ३९ वटा शव फेला

एजेन्सी । ब्रिटेनको एसिक्समा एउटा लरी कन्टेनरभित्र ३९ वटा शव फेला परेका छन्। वाटरग्लेड औद्योगिक क्षेत्रको पूर्वी सडक ग्रेजमा स्थानिय समयानुसार राति १स्४० तिर त्यहाँ शव भएको सूचना पाएपछि एम्बुलेन्स सेवाले प्रहरीलाई खबर गरेको थियो।

हत्याको आशङ्कामा नोर्दन आयरलन्डका २५ वर्षीय लरी चालकलाई पक्राउ गरिएको छ। एसिक्स प्रहरीका अनुसार उक्त लरी बल्गेरियाबाट हिँडेको र एङ्गलसीको हलिहेड हुँदै शनिवार ब्रिटेन छिरेको थियो।

अहिलेसम्म ३८ जना वयस्क र एक किशोरको मृत्यु भएको थाहा भएको प्रहरीले जनाएको छ। एसिक्सका प्रहरीप्रमुख एन्ड्र्यू मरिनरका अनुसार अधिकारीहरूले मृतकको पहिचान गर्ने प्रयास गरिरहेका छन्। तर त्यसको प्रक्रिया लामो हुन सक्ने बताएको छ।
उनका अनुसार लरीचालकलाई घटनासँग सम्बन्ध भएको आशङ्कामा पक्राउ गरिएको हो।

'हाम्रो छानबिन सुरु भइसकेकाले उनी हिरासतमा रहेका छन्' उनले भने। ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले यो दुस्खद घटनाबाट आफू स्तब्ध भएको टिप्पणी गरेका छन्।

'मैले घटनाबाट निरन्तर जानकारी लिइरहेको छु र गृह मन्त्रालयले सत्यतथ्य पत्ता लगाउन एसिक्स प्रहरीसँग मिलेर गर्नेछ' जोनसनले भने।

वाटरग्लेड औद्योगिक क्षेत्र बन्द गरिएको छ र त्यहाँ प्रहरीले घेराबन्दी गरेको छ। सन् २००० को जुन महिनामा ५८ चिनियाँ आप्रवासीका शव ब्रिटेनको डोभरमा एउटा लरीको पछाडि फेला पारिएको थियो।

आमहत्या गरेको भन्दै उक्त लरीका डच चालकलाई जेल हालिएको थियो।

प्रतिक्रिया दिनुहोस