
काठमाडौं । कारोबार थालनी गर्नलाई कुन मुलुकमा कत्तिको सहज वातावरण छ भन्ने देखाउन विश्व बैंकले जारी गर्ने ‘इज अफ डुइंग बिजनेस’ सुचिमा नेपालले ठूलो फड्को मारेको छ । अघिल्लो वर्षको तुलनामा नेपालले १६ स्थानको छलाङ मारेको सूची आज विश्व बैंकले सार्वजनिक गरेको हो ।अघिल्लो वर्ष अर्थात् सन् २०१८ मा नेपाल ११०औं स्थानमा थियो । सन् २०१८ मे १ देखि सन् २०१९ मे १ सम्मको सर्वेक्षणका आधारमा विश्वका १९० मुलुकको सूचीमा नेपाल ९४औं स्थानमा रहेको छ ।
नेपालको छिमेकी भारतले पनि यो सूचीमा उल्लेख्य प्रगति गरेको छ । अघिल्लो वर्षभन्दा १४ औं स्थानमाथि आउँदा भारत अहिले ६३ औं स्थानमा छ । उत्तरी छिमेकी चीन भने ३१औं स्थानमा छ । पाकिस्तान १०८औं स्थानमा छ भने श्रीलंका ९९औं स्थानमा छ ।
नेपाल अघिल्लो वर्ष ११०औं स्थानमा थियो जसले नेपालीलाई निराश बनाएको थियो किनकी त्यो सन् २०१७ को भन्दा ५ अंकले तल झरेको थियो । सन् २०१७ मा १०५औं स्थानमा रहेको नेपाल यस अघि सन् २०१४ मा पनि ९४औं स्थानमा थियो । जुन अहिलेसम्म कै राम्रो नतिजा हो । त्यसो त सन् २००९ मा नेपाल यो सूचीमा १२३औं स्थानमा रहँदा निकै कम्जोर देखिएको थियो। यो सूचीको पहिलो स्थानमा न्युजील्यान्ड छ भने १९०औं स्थानमा सोमालिया रहेको छ । अमेरिका छैठौं स्थानमा रहँदा रसिया २८औं स्थानमा छ ।
के हो ‘इज अफ डुइंग बिजनेस’
‘इज अफ डुइंग बिजनेस’ भनेको कुनै पनि मुलुकमा कारोबारको सुगमतालाई देखाउने इन्डेक्स हो । यसले कुनै पनि देशमा कारोबारको थालनी गर्न कत्तिको सहज छ भन्ने देखाउँछ । यदी नयाँ काम गर्न धेरै नै गाह्रो छ । धेरै झन्झट छन् भन्ने स्थिति देखियो भने त्यो मुलुक सूचीमा तल पर्छ । कुनै कारोबार शुरु गर्न कत्ति समय लाग्छ । जस्तै कुनै व्यक्तिले घर बनाउनु पर्यो भने त्यसको कानुनी प्रक्रिया पूरा गर्न, स्वीकृति लिन, नक्सा पास लगायतका काम सक्न कति समय लाग्छ र सहज छ भन्ने जस्ता कुराको आधारमा यो सूची तयार पार्ने गरिन्छ ।
नेपालबारे विश्व बैंकको टिप्पणी
नेपालले यसमा राम्रो स्थान हासिल गर्नुको अर्थ नेपालमा नयाँ कामको थालनी गर्न सहजता बन्दै गएको देखिन्छ । सरकारले पनि नयाँ व्यापार व्यवसाय गर्नेलाई सहज वातावरण बनाउने र विभिन्न सहयोग गर्ने नीति अबलम्बन गरेको छ । विश्व बैंकले सूची जारी गर्दा नेपालले गरेका राम्रा र नराम्रा कामको समेत समिक्षा गरेको छ ।
विश्व बैंकका अनुसार हरेक कामदारलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकृत गर्नुपर्ने प्रावधान लागू गरेर व्यापार व्यवसाय गर्न केही गाह्रो पारेको छ । यसमा विश्व बैंकले नकारात्मक अंक दिएको छ । त्यसैगरी घरजग्गा किनबेचमा लाग्ने दस्तुरमा सरकारले गरेको वृद्धिलाई पनि विश्व बैंकले राम्रो मानेको छैन । तर, भूमि सुधारअन्तर्गत भइरहेको जग्गाको आधुनिक नापीको भने प्रसंशा गरेको छ ।
निर्माणको क्षेत्रमा भने सहजता ल्याएको, कर घटाएको र अनलाइन माध्यमबाट आवेदन शुरु गरेको भन्दै सकारात्मक अंक दिइएको छ । कर्जा सुचना केन्द्रलाई प्रभावकारी बनाइएको र कर्जा सुचनामा पहुँच बढेको भन्दै त्यसलाई सकारात्मक बताएको छ । विश्व बैंकले सरकारले वीरगन्जमा शुरु गरेको एकीकृत भन्सार बिन्दुले नेपालबाट हुने निर्यात र आयातलाई सहज परेको समेत रिपोर्टमा उल्लेख गरेको छ । सरकारले शुरु गरेको कार्य सम्पादन सम्झौताले पनि नयाँ कामको थालनीलाई सहज बनाएको विश्व बैंकले उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस