
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोगसम्बन्धी छानबिन गरिरहेको एउटा संसदीय समितिको काममा रिपब्लिकन सांसदहरूले अवरोध पुर्याएका छन्। डेमोक्र्याट सांसदहरूले नेतृत्व गरिरहेको उक्त छानबिनको बन्दसत्रमा पेन्टागनका एक वरिष्ठ विज्ञले बयान दिन लाग्दा २० भन्दा बढी रिपब्लिकन सांसदहरू छिरेर बाधा पुर्याएका हुन्।
रक्षा मन्त्रालयकी अधिकारी लौरा कूपर उक्त समितिमा बयान दिन गएकी थिइन्। त्यही बेला रिपब्लिकन सांसदहरूले आफूले पनि बन्दसत्रमा लिइएको बयान हेर्न पाउनुपर्ने माग राख्दै छिरेका थिए। विपक्षी डेमोक्र्याटिक पार्टीका सांसदहरूले रिपब्लिकन पक्षले राष्ट्रिय सुरक्षामाथि सम्झौता गरेको आरोप लगाएका छन्।
महाभियोगसम्बन्धी छानबिन गरिरहेको उक्त समितिले राष्ट्रपति ट्रम्पलाई सोभियत शैलीबाट हटाउने प्रयास गरेको रिपब्लिकन सांसदहरूको आरोप छ। उक्त समितिमा दुवै दलका सांसदहरू सदस्य छन्। डेमोक्र्याटहरूले रिपब्लिकनहरूले रुस र चीनलाई सहयोग गरिरहेको आरोप लगाएका छन्। पाँच घण्टाको विलम्बपछि समितिले ट्रम्पलाई लागेका आरोपमा साक्षीका रूपमा बोलाइएकी कूपरको बयान लिन सक्यो।
ट्रम्प के भन्छन्?
राष्ट्रपति ट्रम्पले यो साता आफूविरुद्धको महाभियोगसम्बन्धी जाँचबुझमा कठोर हुन र त्यसविरुद्ध लड्न रिपब्लिकनहरूलाई आह्वान गरेका थिए। डेमोक्र्याटिक दलका एक सांसद टेड ल्यूले ट्रम्पले भूतपूर्व उपराष्ट्रपति जो बाइडनविरुद्ध अनुसन्धान गर्ने विषयमा युक्रेनका समकक्षीसँग टेलिफोन वार्ता गरेकोबारे कूपरसँगको बयानले थुप्रै प्रमाणको खुलासा गर्ने भएकाले रिपब्लिकनहरू त्रसित भएको बताए।
सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनका लागि बाइडन ट्रम्पका सम्भावित प्रतिद्वन्द्वी हुन्। राष्ट्रपति ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच जुलाई २५ मा भएको टेलिफोन संवादको लिखित विवरणले ट्रम्पले बाइडन र उनका छोरा हन्टरविरुद्ध लागेको भ्रष्टाचारको आरोपबारे अनुसन्धान गर्न आह्वान गरेको देखाउँछ। बाइडनले राष्ट्रपति ट्रम्पमाथि महाभियोग लगाइनुपर्छ भनेर प्रत्यक्ष आह्वान गरिसकेका छन्। डेमोक्र्याटहरूले कङ्ग्रेसमा थालेको महाभियोगको छानबिनलाई ह्वाइट हाउसले नसघाउने जनाएको छ।
महाभियोग छानबिनको पृष्ठभूमि के हो?
बराक ओबामाका उपराष्ट्रपति बाइडनले आफ्ना छोरा कार्यरत एउटा कम्पनीविरुद्ध अनुसन्धान गरिरहेका युक्रेनका उच्च अभियोजनकर्तालाई पदमुक्त गर्न उक्साउन खोजेको आरोप ट्रम्प र उनका सहयोगीहरूले लगाउने गरेका छन्। हन्टर बाइडन सन् २०१४ मा युक्रेनको एउटा प्राकृतिक ग्यास कम्पनीका निर्देशक थिए। त्यति बेला उनका बुवा युक्रेनबारे अमेरिकी नीति हेर्ने मुख्य भूमिकामा थिए। अहिले जो बाइडन सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनमा ट्रम्पलाई चुनौती दिने डेमोक्र्याटिक उम्मेदवारको प्रबल दाबेदार हुन्।
गत महिना अमेरिकी सञ्चारमाध्यमले एक गुप्त सुराकीले विदेशी नेतासँगको टेलिफोन कुराकानीको विषयवस्तु र उद्देश्यप्रति गम्भीर प्रश्न गर्दै राष्ट्रपति ट्रम्पविरुद्ध उजुरी हालेको जनाएका थिए। अमेरिकी राष्ट्रपतिले युक्रेनी समकक्षीलाई बाइडनमाथि अनुसन्धान गर्न दबाव दिएको समाचारहरूमा उल्लेख थियो। ट्रम्प प्रशासनले सुराकीको उजुरी कङ्ग्रेसलाई हस्तान्तरण गर्न रोकिरहेको विवरण बाहिर आएको थियो।
के भन्छन् बाइडन?
सन् २०१४ मा हन्टर बाइडनले युक्रेनमा काम गरिरहेको कम्पनीमा काम थाल्दा अमेरिकी उपराष्ट्रपति रहेका उनका बुवाका निम्ति सम्भावित स्वार्थ बाझ्ने विषयमा प्रश्नहरू उठाइएको थियो। रुसको समर्थन प्राप्त राष्ट्रपति हटाइएपछि युक्रेन राजनीतिक सङ्क्रमणमा थियो र बाइडनले पटकपटक त्यहाँको भ्रमण गरेका थिए।
सन् २०१६ मा जो बाइडनले युक्रेनी सरकारलाई त्यहाँका उच्च अभियोजनकर्तालाई पदमुक्त गर्न दबाव दिएका थिए। ती अभियोजनकार्ताको कार्यालयले बाइडनका छोरा संलग्न कम्पनीमाथि छानबिन गरिरहेको थियो। गत वर्ष एउटा थिङ्क ट्याङ्कमा दिएको भाषणमा बाइडनले अभियोजनकर्तालाई निकाल्न अर्बौँ डलरको जमानत रोक्का गर्ने चेतावनी दिएको बताएका थिए। उनले भनेका थिए, "मैले उनीहरूलाई हेरेँ र भनेँ - छ घण्टामा म फर्किँदैछु। यदि अभियोजनकर्तालाई बर्खास्त गरिएन भने तपाईँहरूले पैसा पाउनु हुने छैन।"
भ्रष्टाचारविरोधी प्रयासमा बाधकको बनेको ठानेर कैयौँ पश्चिमा सरकारहरू र ठूलो लगानीकर्ता युक्रेन सरकार पनि ती अभियोजनकर्तालाई हटाउन चाहन्थे। तर ट्रम्प र उनका सहयोगीहरू बाइडनले छोरालाई जोगाउन त्यस्तो कदम चालेको आरोप लगाउँछन्। यो वर्षको मे महिनामा युक्रेनका तत्कालीन प्रमुख अभियोजनकर्ताले जो र हन्टर बाइडनले अनुचित काम गरेको प्रमाण नभएको बताएका थिए। जो बाइडनले आफूले कहिल्यै पनि छोरासँग उनको व्यापारबारे कुरा नगरेको बताएका छन्।
युक्रेनलाई दबाव किन?
ह्वाइट हाउसले युक्रेनलाई दिने २५ करोड डलरसम्मको सैन्य सहायतामा अस्थायी रोक लगाउने निर्णय गरेकै समयमा दुई राष्ट्रपतिबीच उक्त विवादित फोनवार्ता भएको संयोग देखिएको छ।
अमेरिकी सञ्चारमाध्यममा प्रकाशित समाचारअनुसार सहायता निलम्बन गर्ने निर्णय जुलाई २५ मा भएको फोनवार्ताअघि भएको थियो र दुई नेताहरूको संवादमा त्यसबारे कुरा भएको कुनै सङ्केत छैन। सहायता ढिलाइको द्विपक्षीय आलोचनाबीच गत महिना युक्रेनका निम्ति २५ करोड डलर अनुमोदन गरिएको थियो। ट्रम्पले युक्रेनी राष्ट्रपतिसँग कुराकानीका क्रममा "युक्रेनमा पहिल्यै भ्रष्टाचार सिर्जना गरेका उपराष्ट्रपति बाइडन र उनका छोराले जस्तो आफ्ना नागरिकबाट नहोस् भन्ने कुरा" र भ्रष्टाचारको प्रसङ्ग राखेको बताएका थिए। तर उनले आफूलाई महाभियोग लगाउने चेतावनीलाई गम्भीरतापूर्वक नलिएको बताएका थिए।
प्रतिक्रिया दिनुहोस