
काठमाडौं । काठमाडौंको मुटु मानिएको कमलादीस्थित विभिन्न व्यापारिक प्रतिष्ठान सहित बैंक तथा वित्तीय संस्थाले डेरा जमाएर बसेका काठमाडौं प्लाजा निकै सस्तो भाडामा सरकारले निजी कम्पनी कन्सेप्ट डेभलपर्सलाई संचालनको जिम्मा दिएको छ ।
सरकारी सम्पत्ति निजी कम्पनीलाई सस्तो भाडा लगाउदा राज्यको ढुकुटीमा जानु पर्ने रकम निजी कम्पनीमा गएको छ । सरकारले ट्रसमा आएको जग्गा तथा सुविधासम्पन्न यस्ता भवनको यथोचित मूल्यमा भाडा लगाउने हो भने महिनामै अर्बौ रुपैयाँ राज्य कोषमा जम्मा हुने देखिएको छ ।
ट्रष्टले गोकर्णस्थित गोकर्ण फरेष्ट रिसोर्ट, काठमाडौं प्लाजा, लाजिम्पार्टस्थित स्ट्याण्डर्ड चार्टड बैंक, टेकुस्थित बिजनेश पार्क, दरमार्गस्थित पुरानो नेपाल ट्रष्टको कार्यालय रहेको भवन, सोल्टी आउटर कम्प्लेक्सलगायत अन्य थप चार वटा भवन समेत भाडामा लगाएको छ । उक्त भवनहरू अत्यन्त सस्तो दरमा भाडामा लगाएको बुझिएको छ ।
उक्त प्लाजा राजा विरेन्द्र र उनको परिवारको हो । दरवार हत्याकान्डपछि उक्त सम्पति नेपाल ट्रष्टको नाममा आएको छ । दरवार हत्याकाण्डपछि पछिल्लो पटक लिज सम्झौता गरिएको उक्त प्लाजाको भाडा चलनचल्तीको मूल्यभन्दा निकै कम छ । २०६६ साल पुस २३ गते गरिएको सम्झौतामा उक्त प्लाजाको भाडा वार्षिक ७५ लाख रुपैयाँमात्रै रहेको छ । नेपाल ट्रष्टले चाहेर पनि उक्त रिसोर्टको भाडा बढाउन सकेको छैन।
पाँच रोपनीभन्दा बढी जग्गामा रहेको होटलको सम्पूर्ण पूर्वाधार सहित कन्सेप्ट डेभलपर्सले लिज लिएको हो। प्रतिआना करोड रुपैयाँ पर्ने उक्त जग्गामा बनेको भवन सहितको उक्त भाडा हो ।
जग्गामात्रै भाडामा लगाउने हो भने प्रति रोपनी साढे १२ लाखमा पाइदैन । तर, नेपाल ट्रसले विभिन्न खेलो गर्ने उद्देश्यका साथ उक्त जग्गामा बनेको संरचना सहित बजार मूल्यभन्दा अत्यन्त सस्तोमा भाँडा लगाएको छ । सो स्थानमा अहिले खाली जग्गा समेत सो मूल्यमा भाडामा पाइदैन। ट्रसले २०७७ असार २ गतेसम्म उक्त भाडादर निर्धारण गरेको हो ।
ट्रस मूल्य बढाउने विषयमा सम्झौतलाई अघि सार्छ र भन्छ, सम्झौता अवधिसम्म बोल्न पाइदैन । हामी सम्झौता भन्दा बाहिर जान सकेनौ। सम्झौताको म्याद सकिएपछि नियम अनुसार भाडा पुनरावलोकन हुन्छ ।
पूर्व राजा वीरेन्द्र र उनको परिवारका नाममा काठमाडौं, ललिपुर, भक्तपुर, नुवाकोट, चितवन, कास्की, सिन्धुपाल्चोकलगायतका स्थानमा देशभर २१ हजार ६ सय ४२ रोपनी जग्गा रहेको छ । अहिले सो जग्गा नेपाल ट्रष्टको कार्यालयले विभिन्न औद्योगिक घरानादेखि व्यापारिक कम्पेक्सलाई भाडामा दिएर वार्षिक करिब साढे ६ करोड रुपैयाँ उठाउने गरेको छ । यसका साथै राजा वीरेन्द्र रानी ऐश्वर्य तथा उनका परिवारको नाममा रहेका चल अचल सम्पत्तिको समेत कार्यालयले खोजी गरिरहेको छ ।
यसका साथै नविल बैंकमा चार लाख ३५ हजार चार सय १६ कित्ता, नेपाल औद्योगिक विकास निगममा ६ हजा सात ५० र होटल डेला अन्नपूर्णमा ३० हजार सात सय २० कित्ता गरी जम्मा चार लाख ७२ हजार आठ सय ८६ कित्ता सेयर नेपाल ट्रष्टको कार्यालयमा आएको छ । हाल ट्रष्टमा ५१ करोड रुपैयाँभन्दा बढी रकम रहेको छ । नेपाल ट्रष्ट ऐन, २०६४ मा चल अचल सम्पत्ति खोजी गर्न थालिएको हो ।
प्रतिक्रिया दिनुहोस