
काठमाडाैं । पटक-पटक बिभिन्न मागहरू अघि सार्दै अनसन बस्दै अाएका भर्खर अवकास प्राप्त चिकित्सक डा. गोविन्द केसीले कात्तिक १८ गतेदेखि पुनः अनसन थाल्ने भएका छन्।
चिकित्सा शिक्षा सुधारका लागि विभिन्न मागहरुसहित सरकारलाई अल्टिमेटम दिएको मिति सकिएसँगै केसीले फेरि अनसन थाल्ने भएका हुन्। एक विज्ञप्ती जारी गर्दै उनले मेडिकल कलेजहरुले अवैध रुपमा अशुलेको रकम फिर्ता गर्न उनले माग गरेका छन्।
कात्तिक ७ गते वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा अवैध रुपमा असुलिएको शुल्क फिर्ता गर्नुपर्ने माग राख्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रेका विद्यार्थीहरुलाई कलेज प्रशासनले भाडाका गुण्डाहरु ल्याएर ढुंगा, लाठी र रड प्रयोग गरेको भन्दै केसीले घोर भत्सर्ना गरेका छन्।
विद्यार्थीमाथि आक्रमण हुँदा प्रहरी प्रशासन तमासे बनेको भन्दै उनले अपराधीसँग प्रहरी प्रशासनको साँठगाँठ भएको आरोप लगाए। अवैध रुपमा असुलिएको शुल्क फिर्ता नगर्ने सबै मेडिकल कलेजका सञ्चालकहरुलाई तत्काल फौजदारी कसुरअन्तर्गत पक्राउ र कारबाही गर्न केसीले माग गरे।
प्रतिक्रिया दिनुहोस