काठमाडौं । गत चैत ८ गते पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडकको प्रधानमन्त्री केपी शर्मा ओलीले सडकको शिलान्यास गरे।
भव्य रूपमा सडक शिलान्यास गरेको ७ महिना बित्दा पनि निर्माणमा प्रगति देखिएको छैन । चार वर्षमा निर्माण सक्नुपर्ने उक्त सडकको आधा वर्ष बित्दासमेत काम अघि बढ्न सकेको छैन। दुई लेनको सडकलाई चार लेनमा विस्तार गर्न लागिए हो। सडक विभागका महानिर्देशक केशवकुमार शर्मा पूर्वतयारी नपुगेका कारण निर्माणमा ढिलाइ भएको बताउँछन् ।
‘निर्माण कम्पनीले पूर्वतयारी गरिरहेको छ,’ उनले भने, ‘निर्माण ढिलाइ भएको बारे सोधिरहेका छौं, पलको फर्मा बनाउने, कसर प्लान्ट स्थापना गर्ने काम भएकाले साइटको काम नदेखिएको हो।’
उनले निर्माणमा प्रयोग हुने मेसिन बाहिरबाट ल्याउनुपर्ने भएकाले केही ढिलाइ भएको दाबी गरे । अहिले सडक मर्मतको काम पनि भइरहेको छ। सडक विभागअन्तर्गतको एडीबी सड़क निर्देशनालयले चाइना स्टेट कन्ट्रक्सनसँग माघ २४ मा ठेक्का सम्झौता गरेको थियो। एसियाली विकास बैंकले ३२ वर्षका लागि ऋण सहयोग गरेको हो। निर्माणको कुल लागत १६ अर्ब ९९ करोड ५२ लाख ९५ हजार रुपैयाँ छ। जसमा ८५ प्रतिशत रकम १ दशमलव ५ प्रतिशत ब्याजदरमा एडीबीले ऋण दिनेछ । थप खर्च नेपाल सरकारकै हुनेछ । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस