काठमाडौं । राष्ट्र बैंकले सात वटै प्रदेशको स्मारिका सिक्का निकाल्ने भएको छ । हरेक प्रदेशका राष्ट्रिय विभूति, आभूषण, सजावट, धार्मिक, सांस्कृतिक, प्राकृतिक सम्पदामध्ये कुनै एक अकित गरी स्मारिका सिक्का निकाल्ने तयारी भएको राष्ट्र बैंकले जनाएको छ।
मलुक संघीयतामा गएपछि बनेका प्रदेशको पहिचान र प्रचारप्रसारमा सहयोग गर्ने उद्देश्यले स्मारिका सिक्का छाप्ने योजना बनेको राष्ट्र बैंक टक्सार महाशाखा प्रमुख थानेश्वर आचार्यले बताए। ‘हरेक प्रदेशका स्मारिका सिक्का फरकफरक हुन सक्छन्,’ उनले भने, ‘सम्बन्धित प्रदेशमा विशेष महत्त्व राख्ने विषय वस्तु अंकित गरेर सिक्का निकालिनेछ।’ सिक्का निष्कासनअघि यसबारे सम्बन्धित प्रदेशको पनि राय मागिने उनले बताए। ‘सिक्कामा अंकित विषयवस्तु विवादित नहोस ।’ उनले थपे, ‘हाम्रो उद्देश्य स्मारिका सिक्कामार्फत हरेक प्रदेशको पहिचान देश विदेशमा प्रचारप्रसार होस् भन्ने हो ।
सुरुमा किप्रोनिकल धात ‘कपर र निकल मिश्रित’ बाट १ सय रुपैयाँ अंकित सिक्का बनाइने र मागअनुसार त्यसलाई बढाउँदै लैजाने राष्ट्र बैंकले बताएको छ । तिहारलगत्तै स्मारिका सिक्का बनाउने योजना रहे पनि प्राविधिक कारणले ढिलाइ हुन सक्ने आचार्यले बताए। ‘सुन्धारा स्थित टक्सारबाट सिक्का बनाउने गरिएकामा हाल उक्त स्थान धरहरा निर्माणमा उपयोग हुँदै छ।
यसकारण अब यो स्थान छोड्नुपर्ने भएको छ। अर्को ठाउँमा गएर मेसिन जडान गर्न कति समय लाग्छ। त्यसकै आधारमा स्मारिका सिक्का निर्माणका लागि समय तोकिने उनले बताए ।
राष्ट्र बैंकले यो वर्षदेखि बबरमहलबाट असफीलगायत अन्य सिक्का बिक्री गर्दै आएको छ। सिक्का छाप्नका लागि पनि सोही स्थानमा मेसिन जडान गर्ने राष्ट्र बैंकको तयारी छ। ‘यसका लागि सरकारको अनुमति चाहिन्छ,’ स्रोतले भन्यो, ‘हेरै कति छिटो प्रक्रिया पूरा हुन्छ । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस