aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

तिहारले आफ्ना दाजुभाई र माइतीप्रति गर्व गरुन्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ११ कार्तिक २०७६
तिहारले आफ्ना दाजुभाई र माइतीप्रति गर्व गरुन्

तिहारको मूल मर्म विवाह गरेर अरुको घरमा गएका चेलीको स्थिति बुझ्न, उनीहरुको परिवारसँगको सम्बन्धलाई प्रगाढ तुल्याउन र आफ्नै दिदीबहिनीको हातले तयार गरेको मीठो खाना खान र देवि स्वरुप दिदी बहिनीको आर्शिवाद ग्रहण गर्ने पर्व हो । 

तिहारको विदाभरि दिदीबहिनीसँग समय बिताउने दाजुभाइ उत्कृष्ट हुन् । उनलाई लक्ष्मीपूजा गर्न, सेलरोटी पकाउन र काग तथा कुकुरलाई पूजा गर्न सघाउँदाको मज्जा नै बेग्लै हुन्छ । तिहारमा दिदीबहिनीको घर मात्र होइन कहिले काँही आफु भएको ठाउँ बोलाएर टिका लगाउदा झन मित्रताको सामिप्यता बढ्छ । यस पटकको तिहारमा चार दिन बिदा परेको छ । 

आफ्ना दिदीबहिनीलाई सक्दो खुसी पार्न उनीहरुका पिडा व्यथालाई बिर्साउन उनीहरुलाई सक्दो सहयोग गर्न सकिन्छ । कम्तिमा यी चार दिन दिदीबहिनीको ओठमा हर क्षण मधुर मुस्कान ल्याउने कोशिस गरौं । उनी फुरुक्क होउन् । आफ्ना दाइभाइ र माइतीप्रति गर्व गरुन् । अरुलाई ईष्या लागोस् कस्तो दिदीबहिनी दाजुभाइ मिलेका भनेर ।

दिदीबहिनीलाई दिने उपहारः
यसपटकको तिहारमा दिदीबहिनीको इच्छा अनुसारको उपहार दिनुहोस् । नगद नै दक्षिणा दिने गर्नुभएको छ भने पनि यसपटक पहिले दिदीबहिनीलाई सोध्दा राम्रो हुनेछ । तिहारमा खेर जाने उपहार भन्दा सम्झना रहने उपहार दिदा दिदीबहिनीलाई पनि दाजूभाई प्रति झन माया प्रगाढ रहन्छ । अर्को कुरा आवश्यकता अनुसार र दाजुभाईले क्षमताको आधारमा उपहार दिन सल्लाह दिन्छु । 
१.व्यर्थको उपहार नदिन आग्रह गर्छु ।
२. देखाशिखी भन्दा दिदीबहिनीको आवश्यकता र आफ्नो क्षमतालाई ध्यानमा राखेर उपहार दिदा राम्रो हुन सक्छ ।
३. जाडो महिनाका लागि थर्मस, हट ब्याग, पानी उमाल्ने इलेक्ट्रिक किट्ली, टोष्टर मेसिन उपहार दिन सकिन्छ ।
४. बजारमा राम्रा किताब उपलब्ध छन्, किताब उपहार दिनुहोस् तर उपयुक्त हुन्छ भने मात्र दिनुहोस् ।
५.  जाडोमा ताप्न ग्यासबाट चल्ने हिटर उपहार दिन सकिन्छ ।
६. आफ्ना दिदीबहिनीले किन्ने धोको राखेका ब्राण्डको उपहारमा दिन सकिन्छ ।
७. आफ्ना दिदीबहिनीलाई सोधेर आफ्नो बजेटको सीमा बताएर मिलिजुली बजारमा गएर पनि उपहार किन्न सकिन्छ ।
दसैंमा टीका लगाएर दक्षिणा दिए हुन्छ, आर्शिवाद लिने दिने कुरा ठूलो हो भन्ने मेरो मान्यताका हकमा तिहारमा भने फरक मत छ । सानो बेलादेखि झगडा गर्ने अनि त्यो भन्दा धेरै माया गर्ने आफ्ना दिदीबहिनीलाई दिन सकिने उपहार दिन नै ठिक हुन्छ । यसै अनुसार आफ्नो हैसियत हेरेर उपहार दिने हो ।

दाइभाइलाई के दिने ?
आम दिदीबहिनीलाई मेरो सल्लाह छ, यसपटकको तिहारमा यस्ता कुरा नदिदा नै राम्रो हनेछ ।
१. अगाडि तयार गरेको मिठाइ, बासी तेलमा बनेका अनेकौं परिकार, दात भाँच्चिने साह्रो सेलरोटी, अखाद्य रंग मिलाएर बिक्री भैरहेका परिकार, मोटर गुडी रहेको बाटो छेउमा धुलोसहित बिक्री भैरहेका मिठाइ किनेर दाइभाइलाई कृपया नखुवाउनुहोस् । कति पवित्र मनले आफ्नो दाइ भाइको चिरजीवी, सुस्वास्थ्य र दीर्घ जीवनको कामना गरी टीका लगाएर उपहारमा दिने मिठाई भने खाँदा नखाँदै बिरामी हुने गरी दाइभाइलाई गलत उपहार नदिऊँ ।
२. टोकरीमा थिचिँदै मिचिँदै बेचिने फलफूल नदिनोस् । केरालाई पाउडर हालेर पकाइएको हुन्छ । स्याउ कोल्ड स्टोरबाट झिकेर बिक्री गरिन्छ । अनार महंगो हुन्छ, किन्नै सकिन्न । भोगटे, निबुवा, हलुवावेद जस्ता फलफूल किन्यो, कसैले खाँदैन, त्यसै खेह्र जान्छ । नेपाली धेरै फलफूल सेवन गर्न अभ्यस्त पनि छैनन् । यसर्थ वर्षभरि खासै फलफूल नखाने दाइभाईले तिहारमा दिदीबहिनीले ल्याएको फलफूल खान नसकेर फाल्छन् भन्ने बुझ्न बुझ्न ढिला नगर्नुहोस् ।
३.सबै आयात भएका मसलाका पोकाहरु कति महंगा ? काजु, किसमिस, नानाभाँतीका वस्तु किनेर दाइभाइलाई उपहार दिन्छौं । ती सबै वस्तु आफ्ना दाइभाइले वर्षभरि खाएका हुँदैनन् । यसर्थ छिटै खान पनि सक्तैनन् । नखाँदा नखाँदै किरा परेर फाल्नुपर्ने हुन्छ । तिहारमा दुईचार दिन कोट र पाइण्टका खल्तीबाट यस्ता वस्तु झिकेर साथीहरुलाई वितरण गरिएको पनि देखिन्छ । यस्ता उपहारले न छाक टर्छ, नत निकै धेरै तागत नै आउँछ । नत दिदीबहिनीले एक पाउ काजु खुवाएर दाइभाइमा काजु खाने बानी नै पर्छ ।
पूजाविधिका लागि नभई नहुने केही मिठाइ, फलफूल र मसला जुटाउनु ठिकै हो । बस् यी वस्तु उपहारमा नदिने भएपछि आफ्ना दाइभाइको सम्झनाका लागि दिदीबहिनीले पनि केही न केही नयाँ वस्तु एकमुष्ठ उपहार नै दिनु ठीक हुन्छ ।

१.  पहिलो कुरा त आफ्ना दाइभाइलाई तिहारको आशिर्वाद योजस्तो ठूलो उपहार केही हुँदैन ।
२. दाइभाइलाई मनपर्ने तरकारी र रोटी आफ्नै हातले पकाएर प्रेमपूर्वक खुवाउनु पर्छ । अर्को मन खाने यहि उपहार हो । 
३.  ढाकाको टोपी वा भादगाउँले टोपी दाइभाइको शीरमा ढल्काउने हो कि ? 
४. बिहानै पत्रिका पढ्न खोज्ने दाइभाइ छन् भने कुनै एउटा पत्रिकाको वाषिर्क वा अर्धवाषिर्क सदस्य बनेर रसिद उपहारमा दिनुहोस् वा एउटा सानो रेडियो उपहार दिनुहोस् ।
 ५. शहरबाट आफ्नो दाइभाइ टीका लगाउन गाउँकी दिदीबहिनीको घरमा आएका छन् भने एकमाना शुद्ध ध्यू वा गुन्द्रुक, मस्यौरा वा स्थानीय उत्पादनका वस्तु आफ्ना दाइभाइलाई उपहार दिई पठाउन सकिन्छ ।

तिहारमा गर्न नहुने कुराः
१.  कुनै पनि हालतमा जुवा, तास नखेल्नोस् । यसको पूर्णतः वहिष्कार गर्नुहोस् ।
२. बिर्सिएर पनि तिहारमा मापसे नगर्नुहोस् । 
३. देउसी–भैली खेल्न जादै हुँनु हुन्छ भने चोकचोकमा होइन घरघरमा गएर खेल्नुहोस् र कसैलाई पनि दबाव दिएर पैसा माग्ने काम भने गर्दै नगर्नुहोस् । अर्काको चित्त दुखाएर आफू पर्वमा खुसी हुन सकिँदैन ।
४. तिहारमा पट्का पडकाउदा ध्यान भने अवश्य दिनु । यसले दुर्घटना पनि निम्त्याएको छ । यसर्थ आफ्ना केटाकेटीलाई नियन्त्रणमा राख्नुपर्छ ।
तिहारमा के के गर्ने ?
१.  पहिलो कुरा, काग तिहार, कुकुर तिहारलगायतका सबै पाँचै दिनको पर्व परिवार जमघट भएर हर्सोल्लासका साथ मनाउनुपर्छ ।
२. तिहारमा लक्ष्मीलाई भित्र्याउन घर, आँगन, घर अगाडिको सडक र आफ्नो टोल नै सफा गर्नुपर्छ । यसर्थ घरभित्र र टोलको सफाइका लागि अभियानको नेतृत्व गर्नु पर्छ ।
३.  तिहारमा बढीभन्दा बढी समय परिवारलाई दिनुपर्छ । विशेष गरी पुरुषहरु तास खेल्न जाने, कौडा हान्न जाने, बाहिर एक्लै टहलिन जाँदा घरमा बसेका महिला, केटाकेटी र बुढाबुढीलाई चाडपर्व नरमाइलो महसुस हुन्छ भन्ने हेक्का राख्नुपर्छ । 
यो तिहारमा उद्यमी लगायत, विदेश र स्वदेशमा बस्नु भएका सम्पूर्णलाई २०७६ सालको मेरो तर्फबाट शुभकामना छ । 
 
 

प्रतिक्रिया दिनुहोस