aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

आइसिस प्रमुख बग्दादीलाई खोज्न र मार्न प्रयोग भएको अमेरिकी सैन्य कुकुर सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १३ कार्तिक २०७६
आइसिस प्रमुख बग्दादीलाई खोज्न र मार्न प्रयोग भएको अमेरिकी सैन्य कुकुर सार्वजनिक

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक स्टेट (आइसिस) प्रमुख अबु बकर अल–बग्दादी लुकेको ठाउँ पत्ता लगाउन र उनलाई गुफाभित्र खेद्न महत्वपूर्ण भूमिका खेलेको सैन्य कुकुरको तस्बिर सार्वजनिक गरेका छन्।

बग्दादीविरुद्धको सैन्य कारबाहीमा कुकुरहरूले पनि भूमिका खेलेकोबारे पहिलो सूचना राष्ट्रपति ट्रम्पले नै सार्वजनिक गरेका थिए।

यसअघि अमेरिकी जनरल मार्क ए मिलेले उक्त कुकुरबारे सूचना दिए पनि नाम खुलाएका थिएनन्। ‘हामी कुकुरको नाम अहिले नै सार्वजनिक गर्दैनौं,’ जनरल मिलेले बग्दादीविरुद्धको कारबाहीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भने, ‘त्यो कुकुर अहिले पनि मैदानमै छ, आफ्नो ड्युटी पूरा गर्दैछ। त्यसैले हामी कुकुरको नाम, तस्बिर वा अरू कुनै सूचना दिन सक्दैनौं।’

त्यसै दिन दिउँसो राष्ट्रपति ट्रम्पले जनरल मिलेसँग थप सूचना लिएर उक्त कुकुरको तस्बिर आफ्नो आधिकारिक ट्वीटरबाट सार्वजनिक गरे। ‘न्यूजविक’ पत्रिकाका अनुसार कुकुरको नाम कोनान हो। सुरक्षा भेस्ट लगाएर खिचिएको उक्त तस्बिर भर्खरैको हो कि पुरानो हो भन्ने खुलेको छैन।

 

‘आइसिस प्रमुख अबु बकर अल–बग्दादीलाई समात्न र मार्न उल्लेखनीय भूमिका खेलेका विशिष्ट कुकुरको तस्बिर हामीले सार्वजनिक गरेका छौं, नाम भने अहिलेलाई गोप्य राखिएको छ,’ ट्रम्पले ट्वीटमा लेखेका छन्। उनले उक्त कुकुरलाई भेट्ने इच्छासमेत देखाएको वरिष्ठ अधिकारीहरूले बताएका छन्।

कुकुरको नाम किन गोप्य राख्नुपर्यो भन्ने जिज्ञासामा एक पूर्व जनरल मार्क हटर्लिङले भने, ‘नाम भन्दा कुकुर स्याहार्ने व्यक्तिको परिचय खुल्छ। त्यो परिचय खुल्नेबित्तिकै बग्दादीविरुद्ध कारबाही गर्ने सैन्य युनिट पनि सार्वजनिक हुन्छ।’

ट्रम्पले बताएअनुसार बग्दादीलाई अमेरिकी सैन्य कुकुरहरूले सुरूङभित्र लखेट्दै गएपछि उनले बमजडित भेस्ट पड्काएका थिए। यही क्रममा उनको मृत्यु भएको थियो।

यो कारबाहीमा प्रयोग भएको कुकुरलाई कुनै चोटपटक लागेकोबारे जानकारी प्राप्त भएको छैन। ह्वाइट हाउस र अमेरिकी रक्षा विभागले कुकुर कुन जातको थियो भन्ने खुलाएका छैनन्। विज्ञहरू भने ‘बेल्जियन म्यालिनोयस’ जातका कुकुर प्रयोग भएको अनुमान गर्छन्। यसअघि सन् २०११ मा अलकायदा प्रमुख ओसामा बिन लादेनविरुद्धको कारबाहीमा पनि यही जातका कुकुर प्रयोग गरिएका थिए।

‘यी जातका कुकुर निकै साहसी हुन्छन्, काममा कहिल्यै अल्छी गर्दैनन्,’ अमेरिकन बेल्जियन म्यालिनोयस क्लबका अध्यक्ष जुडी हेगनले एक अन्तर्वार्तामा भनेका छन्, ‘यिनीहरू एकदमै बुद्धिमान र सिपालु हुन्छन्। कुनै पनि प्रशिक्षण दिन समय लाग्दैन।’

बेल्जियन कुकुरको सानो बच्चाको मूल्य पनि १ हजार ५ सय अमेरिकी डलरबाट सुरू हुन्छ। तालिमप्राप्त कुकुर त ३० हजार डलरसम्म पर्छ।

बग्दादीविरुद्धको कारबाहीमा कुकुरको योगदानलाई ‘साहसी’ भन्दै प्रशंसा गरेका ट्रम्पले बग्दादीको मृत्युलाई पनि कुकुरसँग जोड्दै नमिल्दो टिप्पणी गरेका थिए। ‘बग्दादी कुकुरझैं मरे,’ उनको भनाइ थियो।

आइसिस प्रमुख बग्दादी संसारकै ‘मोस्ट वान्टेड’ व्यक्ति थिए। सिरिया र इराकको ठूलो भूमि आफ्नो नियन्त्रणमा लिएर आइसिसले लामो समय आतंकवादी गतिविधि चलाउँदै आएको थियो। सन् २०११ मा अमेरिकाले बग्दादीलाई आतंकवादी घोषणा गर्दै उनको गिरफ्तारी वा हत्या गर्ने गरी सूचना दिनेलाई दस करोड अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको थियो।

ओसामा बिन लादेनले नेतृत्व गरेको आतंकवादी समूह अलकायदा कमजोर हुँदै गएपछि आइसिसको प्रभाव बढ्दै गएको थियो। अलकायदा प्रमुख लादेनलाई पाकिस्तानमा उनी लुकेर बसेको एउटा घरमा आक्रमण गरेर अमेरिकाले मारिसकेको छ। बग्दादी पनि सुरूमा सन् २०१० मा इराकमा अलकायदाको नेताका रूपमा उदाएका थिए। पछि अन्य आतंकवादी समूहहरू मिलाएर उनले आइसिसको नेतृत्व सम्हालेका थिए।

प्रतिक्रिया दिनुहोस