
काठमाडौं । भीआईपी जुवाडे प्रकरणले चिनिएको काठमाडौँको महाराजगञ्जस्थित साम्बला होटल पछाडिको एक निजी घरमा जुवा खेलिरहेको ठाउँबाट शनिबार राति चलाइएको जुवा अपरेशनमा पक्राउ परेका ६ जना जुवाडेलाई नछाड्न अदालतले आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले बुधबार उनीहरुलाई ‘साथमै राख्न’ आदेश दिएको हो । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले छापा हानेर पक्राउ परेका मध्ये ६ जना भीआईपी जुवाडेको तर्फबाट आइतबार अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट परेको थियो ।
रिट दायर गर्नेमा क्यासिनो किङका रुपमा चिनिने पाँचतारे होटल सञ्चालक बलराम सापकोटा उर्फ बले, ठेकदार पवनकुमार गुप्ता, उद्योगी श्रवणकुमार गोयल, एयर डाइनेस्ट्रीका तथा पाँचतारे होटल सञ्चालक पवित्रकुमार कार्की, जुवा खेलाउने विक्रम गौतम र मुक्ति लामा थिए ।
उनीहरुको साथबाट दुई करोड ६७ लाख नगद, बैंक अफ काठमाडौंको ३ लाख रुपैयाँको चेक, ३२ थान कौडा र ४ बुक तास बरामद भएको थियो । बरामद भएका हजार र ५ सय रुपैयाँका नोट गन्न प्रहरीलाई करिब ३ घन्टा लागेको थियो । पक्राउ परेका २४ जनाविरुद्ध जुवा ऐनअन्तरगत मुद्दा चलाउने प्रहरी तयारी छ ।
बिहीबार अदालत खुलेपछि कानून बमोजित पक्राउ परेकामाथि अनुसन्धान गर्न म्याद थप गरिने डीएसपी उमेश लम्सालले बताएका छन् । उक्त जुवा अखडामा प्रहरी छापा मार्न पुग्दा जुवाडेहरुको भागाभाग मच्चिएको थियो । कोही शौचालय त कोही पलङमुनि समेत लुकेका थिए । त्यहाँ अप्रेशन गर्दा प्रहरीले ठूलै चुनौती भोग्नुपर्यो’ अनुसन्धानमा खटिएका एक प्रहरी भन्छन्, ।
‘प्रहरी आएको थाहा पाएपछि बिटुमिन व्यापारी पवन अग्रवालचाहिँ शौचालयभित्र लुकेको पाइयो । भित्रबाट चुकुल लगाएको पाएपछि प्रहरीले निकै सास्ती बेहोरेर नियन्त्रणमा लिनु परेको थियो ।’
प्रतिक्रिया दिनुहोस