काठमाडौं । गत असोज १४ गतेदेखि धितोपत्र बजारमा शुरू भएको धितोपत्र दलालमार्फत मार्जिन कर्जा सुविधा प्रयोगप्रति लगानीकर्ताको आकर्षण देखिएको छैन ।
धितोपत्र दलाल व्यवसायी (ब्रोकर) हरूले यो कर्जा सेवा शुरू गरे पनि प्रयोगका लागि कुनै लगानीकर्ता नआएको जानकारी उनीहरूले दिएका छन्। मार्जिन कर्जा सबैभन्दा पहिला असोज १४ गते ब्रोकर नम्बर ५० (क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज) ले शुरू गरेको थियो ।
त्यसयता, ब्रोकर नम्बर ३४ (भिजन सेक्युरिटिज प्रालि), ब्रोकर नम्बर ३५ । कोहिनुर इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज), ब्रोकर नम्बर ३३ (दक्षिणकाली इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज), ब्रोकर नम्बर ३६ (सेक्युर्ड सेक्युरिटिज) र ब्रोकर नम्बर ५७ (आर्यतारा इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज) ले मार्जिन कर्जा कारोबार शुरू गरिसकेका छन् ।
क्रिस्टल कञ्चनजंघाका कार्यकारी अध्यक्ष प्रियराज रेग्मीले ब्रोकर कर्जाका बारेमा बुझ्न आउने लगानीकर्ताको संख्या धेरै भए पनि हालसम्म कसैले पनि यो कर्जा नलिएको जानकारी दिए । बजारको भविष्यबारे लगानीकर्तामा अन्योल रहेकाले पनि कर्जा लिएर लगानी गर्नेतर्फ उनीहरू आकर्षित नभएको भनाइ रेग्मीको छ। यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस