
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला पुन प्रत्यारोपण गर्ने तयारी गरिएको छ । मिर्गौलामा थप समस्या देखिएपछि डाइलाइसिस गरिएको छ र यदी त्यसले काम गरेन भने मिर्गौला प्रत्यारोपणको तयारी गरिएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई बुधवार विहान धापासीस्थित ग्रान्डी अस्पताल लगिएको थियो । अस्पतालमा आईसीयुमा राखेर प्रधानमन्त्री ओलीको उपचार गरिएको थियो ।
ग्रान्डी अस्पतालमा हिजै प्रधानमन्त्रीको मिर्गौलाको डायलाइसिस गरिएको थियो । तर प्रधानमन्त्रीकी निजी चिकित्सक डा दिव्या सिंह साह र अस्पताल प्रशासनले जारी गरेको विज्ञप्तिमा भने प्रधानमन्त्री नियमित जाँचको लागि अस्पताल आएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्रीको रगतमा क्रियाटिनिनको स्तर सामान्य भन्दा निकै नै माथि छ र डायलाइसिस पछि पनि त्यो कम भएको छैन। यस्तै प्रधानमन्त्रीलाई अहिले 'लो ग्रेड' ज्वरो पनि आइरहेको छ। तर ज्वरोको कारण भने खुट्टिन सकेको छैन। चिकित्सकीय हिसाबमा इम्युनाेसप्रेसिब खाइरहेको बिरामीकाे रगतमा संक्रमण देखिनु राम्रो मानिँदैन। त्यसैलेहिजै उनको रगतको कल्चरका लागि पठाइएको छ। जसको रिपोर्ट आउन ७२ घण्टा लाग्छ।
'प्रधानमन्त्री ओलीको उपचार प्रक्रिया र परीक्षण रिपोर्टलाई अत्यन्तै गोप्य राखिएकोले ठ्याक्कै भएको के छ भन्न गाह्रो छ,' उनले भने, 'उच्च सतर्कताका साथ उहाँको उपचार भइरहेको छ।'
प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाह र अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बुधबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा भने प्रधानमन्त्री नियमित उपचारप्रक्रियाका लागि भर्ना भएको उल्लेख थियो।
मिर्गौला पुन प्रत्यारोपणको तयारी
प्रधानमन्त्री ओली भदौ ५ गते सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचारका लागि गएका थिए । त्यहाँ ‘प्लाज्मा फेरासिस’ गरेर प्रधानन्त्री ओली स्वदेश फकिएका थिए ।
शरीरबाट ‘एन्टिबडिज’ हटाउनका लागि प्रधानमन्त्रीको ‘प्लाज्मा फेरेसिस’ गरिएको थियो । प्लाज्मा फेरेसिसबाट मिर्गौलालाई फाइदा नपुगे डायलाइसिसमा जानुपर्ने र त्यसबाट पनि नभएर मिर्गौला प्रत्यारोपण गर्नुपर्ने चिकित्सकहरु बताउँछन् ।
१२ वर्षअघि भारतको अस्पतालमा ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो । बुहारी अन्जना घिमिरे ओलीले त्यसबेला केपी ओलीलाई मिर्गौला दान गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस