aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

भीआईपी जुवाडेमाथि अनुसन्धान गर्न ७ दिन म्याद थप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ कार्तिक २०७६
भीआईपी जुवाडेमाथि अनुसन्धान गर्न ७ दिन म्याद थप

काठमाडाैं । भीआईपी जुवाडे प्रकरणले चिनिएको काठमाडौँको महाराजगञ्जस्थित साम्बला होटल पछाडिको एक निजी घरमा जुवा खेलिरहेको ठाउँबाट शनिबार राति चलाइएको जुवा अपरेशनमा पक्राउ परेका ‘हाइप्रोफाइल’ जुवाडेमाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले सात दिन म्याद थपेको छ।

उनीहरूमाथि अनुसन्धान गर्न सात दिन म्याद थपेको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डिएसपी उमेश लम्सालले बताए। जिल्ला प्रशासन कार्यालय काठमाडौँले उनीहरुलाई थप २ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

बिहीबार प्रशासनमा उपस्थित गराइएका २५ जना उनीहरुलाई प्रमुख जिल्ला अधिकारी  जनकराज दाहालले एकमुष्ट ७ दिनको म्याद दिएर अनुसन्धान प्रक्रियालाई अघि बढाउन अनुमति दिएका हुन् । 

उनीहरु पक्राउ परेको ५ दिन बितिसकेको छ भने अब २ दिनमा प्रहरीले अनुसन्धान गरेर जिल्ला प्रशासन कार्यालयमा पेश गर्नुपर्नेछ  । यसैबीच बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका जुवाडेमध्येका १४ जनाको रिटमा बिहीबार सुनुवाइ हुँदैछ । 

शनिबार राति महाराजगञ्जबाट महानगरीय प्रहरी वृत्तले २५ जना ‘हाइप्रोफाइल’ जुवाडेलाई पक्राउ गरेको थियो। पक्राउ परेकाहरूले छुट्टाछुट्टै बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए।

बुधबार सर्वोच्चले भने ‘बन्दीप्रत्यक्षीकरणका निवेदनहरू साथै राखी एकैपटक हेर्नुपर्ने देखिएकाले प्रस्तुत निवेदन समेत सो निवेदनहरूसँग साथै राखी बन्दीहरूलाई समेत उपस्थित गराई नियमानुसार गरी पेश गर्नू।’ भन्ने आदेश दिएको थियो।

आइतबार निवेदन दिएका ६ जना र सोमबार तथा बुधबार निवेदन दिएका ८ जना गरी सबैलाई म्याद तामेल गरी हाजिर गराउन आदेश दिएको हो।

शनिबार राति नारायण गोपाल चोक छेउबाट जुवा खेलिरहेको अवस्थामा गुण्डा नाइके बलराम सापकोटा उर्फ 'बले'सहित २५ जना जुवाडे पक्राउ परेका थिए। उनीहरूबाट प्रहरीले दुई करोड ६७ लाख रूपैयाँ र ३ लाख बराबरको चेकसमेत बरामद गरेको थियो।

प्रतिक्रिया दिनुहोस