aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

महरालाई साढे ७ वर्ष कैद ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १५ कार्तिक २०७६
महरालाई साढे ७ वर्ष कैद ?

काठमाडौं । संघीय संसद्को सचिवालयमा कार्यरत कर्मचारी ‘नयाँ बानेश्वर २६’ (सरकारी वकिलको कार्यालयले राखेको कोड नाम) माथि बलात्कारको प्रयास गरेको आरोपमा निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जिल्ला अदालत काठमाडौमा मुद्दा दर्ता भएको छ । 

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले साढे ७ वर्ष कैद मागदाबीसहित महराविरुद्ध बिहीबार मुद्दा दर्ता गरेको हो। सरकारी वकिलको कार्यालयका प्रमुख चन्द्रकान्त खनालले प्रहरी प्रतिवेदनमाथि गहन अध्ययनपछि बलात्कार प्रयास (जबर्जस्ती करणीको उद्योग) को आरोपमा मुद्दा दर्ता गरिएको बताए । 

‘किटानी जाहेरीलगायतका प्रहरीले संकलन गरेका प्रमाण र अन्य सबुद विश्लेषणबाट बलात्कार प्रयासको आरोपमा मुद्दा चल्ने निर्णय गरेर अभियोगपत्र पेस गरेका हौं,’ उनले भने, ‘कानुनी प्रावधानअनुसार हिसाब गर्दा अधिकतम साढे ७ वर्षको कैद मागदाबी गरेका छौं ’ 

सरकारी वकिलको कार्यालयले महरामाथि मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ अनुसारको कसुर प्रयास गरेको आरोप लगाएको छ। दफा २१९ मा कसैमाथि पनि जबर्जस्ती करणी गर्न नहुने उल्लेख छ । कार्यालयले बलात्कार नभए पनि बलात्कार प्रयास गरेकाले दफा ३४ अनुसारको कसुर गरेको आरोप लगाएको छ। 

दफा ३४ मा संहिताले कसुर हुने भनी ठहयाएका अपराधको प्रयास गरे ‘कसुरको उद्योग गरेको मानिने’ भनिएको छ। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस