तनहुँ । पृथ्वी राजमार्गको मुग्लिन-पोखरा सडक खण्ड चार लेनमा विस्तार गरिने भएको छ। गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिने यो सडक फराकिलो पार्न एसियाली विकास बैंक (एडीबी) ले झन्डै २२ अर्ब ऋण स्वीकृत गरेपछि प्रदेशवासी उत्साहित छन्।
आगामी सन् २०२५ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको सडक विस्तारको पहिलो चरणमा पोखरादेखि तनहुँको आँबुखैरेनीसम्मको ८०.३३ किलोमिटर खण्डमा काम हुनेछ ।
आँबुखैरेनी-मुग्लिनसम्मको ८.२५ किलोमिटर खण्ड पनि दोस्रो चरणमा स्तरोन्नति हुनेछ । संघीय राजधानी काठमाडौंलगायत नेपालका विभिन्न स्थान जोड्ने पृथ्वी राजमार्गअन्तर्गतको यो सडक खण्ड साँघुरो हँुदा सवारी साधन सहज रूपमा गुड्न समस्या थियो । सडकमा अहिले दैनिक करिब ७ हजार ५ सय सवारी गुड्छन्। चार लेनको सडकमा सुरक्षाका विभिन्न विशेषता, चेतावनी लाइट सिस्टम जडान हुने छन् ।
सहरी क्षेत्रमा साइकल लेन, फुटपाथ तथा मोटरसाइकल प्रयोगकर्ताका लागि विशेष पूर्वाधार बन्नेछन् । सडक विस्तारपछि साँघुरो सडकका कारण हुँदै आएको ट्राफिक जाम, दुर्घटना न्यूनीकरण हुने तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठले बताए । ‘अहिलेको दुई लेन सडकमा अत्यधिक ट्राफिकको चापले गर्दा समयमा गन्तव्यसम्म नपुग्ने र दुर्घटनाहरू निम्तिएका छन्, समयमै यो सडक विस्तार कार्य पूरा भएमा यो समस्या समाधान हुनेछ,’ उनले भने।
श्रेष्ठले पृथ्वी राजमार्ग आसपास मापदण्डलाई अटेर गर्दै सडक सीमा मिचेर भौतिक पूर्वाधार निर्माण भएको बताए । ‘मानापाथीको समयमा सरकारले पथ्वी राजमार्ग आसपास करिब २५ गज दायाँबायाँ छाडेर घर निर्माण गर्न सूचना टाँसेको थियो ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस