नेपालगन्ज । बाँके कारागारका बन्दीले १२ घण्टादेखि चौकीदार भरत फडेरा र नाइके मानबहादुर शाहीलाई कारागार भत्रै बन्दी बनाएका छन् ।
बिहीबार राति अबेर यो समाचार तयार पार्दासम्म पनि बन्दीको आन्दोलन जारी थियो। जेलर भरतराज पाण्डे, चौकीदार फडेरा र नाइके शाहीलाई परिवर्तनको माग राखेर बिहीबार बिहान ७ बजेदेखि बन्दीले चौकीदार र नाइकेलाई थुनेका हुन्।
पुरुष बन्दी गृहको दोस्रो गेटमा ताला लगाएर र सिक्रीले बाँधेर बन्दीहरूले थुनेका छन्। कैदी र थुनुवाले चौकीदार नियुक्तिमा आर्थिक अनियमिता भएको, राज्यबाट पाउने सुविधा जेलरको निर्देशनमा चौकीदार र नाइकेले उपलब्ध नगराएको, बन्दीले विगतमा राशनबाट बचेको मासिक तीन सय रुपैयाँ पाउँदै आएकोमा सो रकम नपाएको, खानावापत थप मासिक दुई सय रुपैयाँ तिर्नु परिरहेको र महँगोमा फोन गर्नुपरेको आरोप लगाएका छन्।
उनीहरू जेलर, चौकीदार र नाइके परिवर्तनको माग गरेका छन्। विदामा रहे पनि दिउँसो काठमाडौंबाट नेपालगन्ज पुगेका जेलर पाण्डेले आन्दोलनकारीको आरोपमा सत्यता नभएको जिकिर गरे।
उनले बन्दीलाई खानावापत दैनिक ६० रुपैयाँ र ७ सय ग्राम मोटो चामल दिइरहेको बताए। ‘पहिले पहिले १५र१५ दिनमा एक सय ५० रुपैयाँ रासनको फिर्ता हुन्थ्यो। अहिले महँगी बढेर पैसा फिर्त नभएको हुन सक्छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस