aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

माथिल्लो त्रिशूली १ मा ५१ अर्बको सम्झौता, ६ महिनामा निमार्ण सुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १६ कार्तिक २०७६
माथिल्लो त्रिशूली १ मा ५१ अर्बको सम्झौता, ६ महिनामा निमार्ण सुरु

काठमाडौं । रसुवामा निर्माण हुने २१६ मेगावाट जडित क्षमताको माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनामा लगानीका लागि ९ वटा लगानीकर्ता र आयोजना प्रवर्द्धक कम्पनीबीच वित्तीय सम्झौता भएको छ ।

आयोजनामा अन्तर्राष्ट्रिय वित्त निमग (आईएफसी) को अगुवाइमा ४५ करोड ३० लाख डलर अर्थात् ५१ अर्ब १८ करोड रकम लगानी गरिने भएको छ। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडा र ऊर्जामन्त्री वर्षमान पुनको उपस्थितिमा आयोजनाको प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत बो सक ई र आईएफसीका दक्षिण एसिया निर्देशक मेन्गिस्तुले हस्ताक्षर गरेका हुन्।

लगानी सम्झौतामा हस्ताक्षर भएलगत्तै आयोजनाको निर्माण सुरु हुने प्रवर्द्धक कम्पनीले जनाएको छ । आयोजनाको प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीका महाप्रबन्धक गिरिराज अधिकारीका अनुसार अबको ६ महिनाभित्र आयोजनाको निर्माण कार्य सुरु हुनेछ । निर्माण सुरु गरेको ५ वर्षभित्र आयोजनाको निर्माण पूरा गर्ने लक्ष्य छ ।

आयोजनाको कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर छ । आयोजना ७० प्रतिशत ऋण लगानी र ३० प्रतिशत स्वपूँजीबाट निर्माण गर्न लागिएको हो। आयोजनामा विश्व बैंक समूहको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले १६ करोड १३ लाख, एसियाली विकास बैंक (एडीबी) ले ६ करोड, एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) ले ३ करोड ९६ लाख, कोरियाली निर्यात-आयात बैंक (केएक्जिम) ले १० करोड, कोरिया डेभलपमेन्ट बैंक (केडीबी) ले ३ करोड ८ लाख डलर ऋण लगानी गर्नेछन् । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस