aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

हरिसिद्धिको चार सय २० रोपनी जग्गा कब्जा, बैंकमा धितो राखी ऋण नतिरेरपछि जग्गै लिलामी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० बैशाख २०७६
हरिसिद्धिको चार सय २० रोपनी जग्गा कब्जा, बैंकमा धितो राखी ऋण नतिरेरपछि जग्गै लिलामी

काठमाडौं । कारखाना खोल्न किसानबाट अधिग्रहण गरेको चार सय २० रोपनी जग्गा हरिसिद्धि इँटा तथा टायल कारखानाका सञ्चालकले षड्यन्त्रपूर्वक हडपेर हिनामिना गरेको पाइएको छ।

कारखानाका सञ्चालकले कतिपय जग्गा बिक्री गर्नुका साथै र बैंकमा धितो राखी ऋण नतिरेर लिलामीमा पुर्याएको भेटिएको छ। पटकपटक गरी विभिन्न कम्पनिलाई एक सय रोपनीभन्दा बढी जग्गा बिक्री गरिएको छ। झन्डै तीन सय रोपनी जग्गा विभिन्न बैंकमा धितोमा राखी लिलामीको अवस्थामा पु¥याइएको छ। योजनाबद्ध रुपमा जग्गा कब्जा गरी बिक्री गर्न हरिसिद्धिका सञ्चालकमध्येका जीतबहादुर श्रेष्ठ र लक्ष्मीबहादुर श्रेष्ठ दाजुभाइको संलग्नता देखिएको छ। उनीहरु एनबी समूहका भनेर चिनिन्छन्।

किसानबाट अधिग्रहण गरिएको जग्गामध्ये २७ रोपनीको नेपाल क्यान्सर अस्पताल र ६ रोपनीको विजयद्वीप ल्याबरटरिजका नाममा लालपुर्जा बनेको छ। उनीहरुले उक्त जग्गामा नक्सा पास समेत गरेर भवन बनाई कम्पनी सञ्चालनमा ल्याएका छन्। बी एन्ड बी हस्पिटलले ४७ रोपनी, बागमती हाउजिङले २५ रोपनी र विना श्रेष्ठले दुई रोपनी जग्गाको लालपुर्जा निकालेका छन्। बाँकी जग्गामध्ये ७६ रोपनी नेपाल बंगलादेश बैंकमा धितो राखिएको छ। यस्तै एनसिसी बैंकमा दुई सय पाँच रोपनी धितो राखी ऋण लिई नतिरेपछि सोमध्ये एक सय २० रोपनी बैंकले नै सकार गरेको छ। बाँकी जग्गा एनसिसी बैंकमै रोक्का छ। एनसिसी बैंकले सकार गरेको जग्गामध्ये २५ रोपनी बागमती हाउजिङलाई बिक्री गरिएको छ।

एनबी वात्रा हस्पिटलका नाममा २३ रोपनी र काठमाडौं सेरामिकको नाममा तीन रोपनी जग्गा छ। यी दुवै कम्पनी एनबी समूहअन्तर्गतका हुन्। बचेको जग्गामध्ये केही सडकमा परेको छ भने अरु हरिसिद्धिकै नाममा छ।

हरिसिद्धिको जग्गा बैंकम राखी ऋण लिएर अन्य प्रयोजनमा प्रयोग गर्दै जाँदा लक्ष्मीबहादुर कालो सूचीमा परेका छन्। लक्ष्मीबहादुरले हरिसिद्धि कारखानालाई डुबाउनुका साथै कतिपय बैंकको निक्षेपसमेत जोखिममा पारे। आफूहरुले कानुनी प्रक्रिया अनुसार कम्पनी खोल्ने र आवश्यक पर्दा जग्गा बिक्री गर्ने गरेको उनले दाबी गरे। ‘कम्पनी सञ्चालनका लागि ऋण लिने र आवश्यक पर्दा बिक्री गर्ने गरिन्छ’, उनले भने। कारखाना खोल्न अधिग्रहण गरिएको जग्गा धितो राख्ने र बेच्ने काम किन गरेको भनी सोध्दा उनले विगतका अदालतका फैसलाले समेत कम्पनीको अधिकारको पक्षमा फैसला सुनाएको तर्क गरे।

हरिसिद्धि इँटा टायल कारखाना जग्गा प्राप्ति संघर्ष समितिका अध्यक्ष बेखा महर्जनले कारखाना खोल्न किसानको जग्गा अधिग्रहण गरिएकोमा धितो राखेर ऋण लिने र ऋण नतिरी बिक्रीमा पु¥याउने गतिविधि षड्यन्त्रपूर्वक गरिएको बताए। उनले भने, ‘बैंकमा धितो राखी ऋण लिन एनबी ग्रुपका सञ्चालकहरु आफैं बैंकको सञ्चालक भए।’ कारखाना खोल्न अधिग्रहण गरिएको जग्गा कुनै हालतमा अन्य प्रयोजनमा प्रयोग गर्न नपाइने कानुनी व्यवस्था भएकाले आफूहरु जग्गा हडपेर बिक्री गर्नेहरुविरुद्ध कानुनी लडाइँ लडिरहेको उनले बताए। जग्गा प्राप्ति ऐन, २०३४ मा जुन प्रयोजनका लागि जग्गा अधिग्रहण गरिएको हो त्यसबाहेक फरक प्रयोजनका लागि प्रयोग गरेमा फिर्ता हुने प्रावधान छ। नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस