काठमाडौं । म्युचुअल फन्ड (योजना)हरूले सूचीकृत धितोपत्रमा लगानी घटाउन थालेका छन् । १७ योजनाहरूले असोज मसान्तमा सूचीकृत धितोपत्रमा रू. ७ अर्ब ५४ करोड ७४ लाखभन्दा बढी लगानी गरेका छन् । यी योजनाले भदौ मसान्तमा शेयरमा रू. ७ अर्ब ५६ करोड १० लाखभन्दा बढी लगानी गरेका थिए ।
शेयर बजार घटेसँगै योजनाहरूको कुल आयमा पनि ह्रास आएको छ । असोज मसान्तको मासिक विवरण सार्वजनिक गरेका १७ योजनामध्ये एनएमबी ५० मात्र कुल आयमा रहेको छ । लगातार बजार घटिरहेकाले यी योजनाले लगानी गरेको कम्पनीबाट नाफा लिन सकेका छैनन् । एनएमबी ५० ले सर्वसाधारणलाई साधारण एकाइ निष्कासन गरी बाँडफाँट गरिसकेको छ । तर कम्पनीको एकाइ नेप्सेमा हालसम्म सूचीकृत भने भएको छैन ।
सूचीकृत धितोपत्रमा पाँच योजनाले मात्र बढाए लगानी
भदौ मसान्तको तुलनामा असोजमा पाँच योजनाले मात्र सूचीकृत धितोपत्रमा लगानी बढाएका छन् । १२ योजनाले भने धितोपत्रमा लगानी घटाएका छन् । लगानी बढाउनेमा नबिल ब्यालेन्स्ड फन्ड, एनआईबीएल समृद्धि फन्ड, एनआईसी एशिया ब्यालेन्स फन्ड, एनएमबी ५० र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्मिक २ छन् ।
सूचीकृत धितोपत्रमा सबैभन्दा बढी लगानी एनएमबी ५० ले बढाएको छ । योजनाले भदौमा रू. १ करोड ५ लाख लगानी गरेको थियो भने असोजमा रू. ४ करोड ८४ लाख लगानी गरेको छ । यस योजनाले १८ ओटा कम्पनीमा मात्र लगानी गरेको छ, जसमध्ये सबैभन्दा बढी लगानी वाणिज्य बैंकमा छ । दोस्रोमा एनआईसी एशिया ब्यालेन्स्ड फन्डले ८४ प्रतिशत लगानी बढाएको छ । योजनाले भदौमा धितोपत्रमा रू. ४ करोड २६ लाख लगानी गरेको थियो भने असोजमा रू. ७ करोड ८५ लाख ९५ हजार लगानी गरेको छ । कात्तिक २ गतेदेखि निर्धारित समयावधि समाप्त भएको एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड १ ले असोजमा धितोपत्रमा लगानी घटाएको छ । योजनाले असोजमा ६ कम्पनीमा रू. १ करोड १ लाख ७३ हजार मात्र लगानी गरेको छ । योजनाको अवधि सकिने भएकाले पनि लगानी घटाएको हो । योजना असोज मसान्तमा रू. १ करोड २० लाख कुल आयमा छ ।
तीन योजना मात्र नाफामा
१७ योजनामध्ये तीन योजना मात्र असोज मसान्तमा नाफामा छन् । नाफामा रहनेमा एनएमबी ५०, एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड १ र एनआईसी एशिया ब्यालेन्स्ड फन्ड छन् । कात्तिक २ गतेदेखि समयावधि सकिएको एनएमबी सुलभ इन्भेस्टमेन्टले असोजमा सबैभन्दा बढी कुल आय गरेको छ । योजनाले असोजमा रू. १ करोड २० लाख २० लाख आय गरेको छ । योजनाले रू. १ करोड ७२ लाख २५ हजार आम्दानी गर्दा रू. ५२ लाख ४ हजार मात्र खर्च गरेको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस