
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली तेस्रोपटक डायलासिस गराउन आइतबार बिहान ग्रान्डी अस्पताल पुगेका छन । केहि समयदेखि बिरामी हुनुभएका प्रधानमन्त्रीको मिर्गौला र फोक्शोमा समस्या देखिएपछि यसअघिनै दुई पटक डायलासिस गरिएको थियो । प्रधानमन्त्रीको निजी सचिवालयले दिएको जानकारी अनुसार डाक्डरहरुको सलाह बमोजिम फेरी मिर्गौला डायलासिस गर्नुपर्ने भएपछि अहिले बिहान ग्रान्डी अस्पताल पुर्याइएको हो ।
प्रधानमन्त्री अस्पताल गएपछि आज बिहान बालुवाटारमा बस्ने भनिएको मन्त्रिपरिषद् बैठक पनि सरेको छ। प्रधानमन्त्री ओलीले शनिवार बसेको नेकपाको सचिवालय बैठकमा आफ्नो स्वास्थ्यबारे जानकारी गराउँदै आफ्नो मिर्गौलाले राम्रोसँग काम नगरेको र फोक्सोमा पानी जमेकाले ग्राण्डी अस्पतालमा गएर दुई पटक डायलासिस गराएको बताएको थियो ।
वनले आफू सिकिस्त बिरामी नभएको तर मिर्गौलाले राम्रोसँग काम गर्न नगरेकाले अब नियमित डायलासिस वा पुनः प्रत्यारोपण मात्र विकल्प रहेको जानकारी गराएको थियो । तिहारपछि पहिलोपटक आज बिहान ११ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको थियो।
प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रत्यारोपण गरिएको उहाँको मिर्गौलामा एन्टिबडीको मात्रा बढेपछि केही महिना अघि सिंगापुरमा प्लाज्मा फेरेसिस् प्रक्रियामार्फत मृगौलाको उपचार गरिएको थियो ।
त्यसपछि अहिले वनको स्वास्थ्यमा फेरि समस्या सुरु भएको हो। यसै क्रममा स्वास्थ्यमा समस्या देखिएपछि बुधबार आकस्मिक डायलासिस गरियो। पुनः बिहीबार दोस्रोपटक डायलासिस गराएर सामान्य अवस्था रहेको भन्दै सरकारी निवास फर्किएका प्रधानमन्त्रीको आज तेस्रोपटक डायलासिस गराउन लागिएको हो।
प्रतिक्रिया दिनुहोस