काठमाडौं । सामाजिक सुरक्षा कोषमा व्यावसायिक प्रतिष्ठानहरूको उत्साहजनक सहभागिता नभएपछि सरकारले कोषको लगानीसम्बन्धी कार्यविधि ल्याउने तयारी गरेको छ ।
कोषमा योगदान गरेबापत पाइने सुविधा कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोष जत्तिको आकर्षक नभएपछि कर्मचारी र कामदार पनि कोषमा आबद्ध हुन इच्छुक देखिएका थिएनन् । कामदारले काम गरुन्जेल कोषबाट कुनै रकम नपाइने तथा आपत् पर्दा त्यसबाट कुनै सुविधा लिन नपाइने भएकाले पनि व्यावसायिक प्रतिष्ठानका कर्मचारी र कामदारको आकर्षण कोषमा रहेको थिएन ।
असोज मसान्तसम्म मात्र ८ हजार व्यावसायिक प्रतिष्ठान कोषमा आबद्ध हुनुले पनि सामाजिक सुरक्षा योजनामा नीतिगत सुधारको आवश्यकता देखिएको थियो । त्यसैले, कोषको बोर्ड बैठकले सामाजिक सुरक्षा कोषका योगदानकर्तालाई सामाजिक, शैक्षिक, घर तथा आवास लगायत १२ शीर्षकमा कर्जा दिनेगरी लगानी सम्बन्धी कार्यविधि तयार गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार सो कार्यविधि हालै मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस