विराटनगर । मोरङको रानी-विराटनगर-इटहरी-धरान ६ लेनको व्यापारिक सडक निर्माण थालेको ६ वर्ष भए पनि पूर्णता पाउन सकेको छैन ।
काममा ढिलाइ, निर्माण कार्यसँगै देखिएका समस्या र डीपीआर तयार गर्दा नै गरिएका गल्तीका कारण निर्माण कार्य अघि बढाउन समस्या भएको हो । हालसम्म सडकको ६० प्रतिशत मात्र काम सम्पन्न भएको आयोजनाका प्रमुख बद्री शर्माले बताए।
उक्त सडक विस्तारको काम आर्थिक वर्ष २०६९/७० देखि शुरू भएको हो । पहिलो ठेक्का विराटनगरको बरगाछीदेखि दूध फारमसम्म लगाइएको थियो । तीन वर्षमा सडक बनाइसक्नु पर्नेमा सडक नाला र फुटपाथको काम अझै भएको छैन ।
शर्माका अनुसार रानीदेखि धरानसम्म ४९ किलोमिटर लामो सो सडकमध्ये पटकपटक गरी ३४ किलोमिटरको ठेक्का लागिसकेको छ । जम्मा रू. १० अर्बको सो योजनामा ३४ किलोमिटर बाटो रू.७ अर्बमा ठेक्का लागेको हो । ठेक्का लागे जति सडकलाई १४ टुक्रा बनाएर विभिन्न निर्माण कम्पनीहरूले काम गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस