
काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई सोमबार पुर्पक्षका लागि थुनामा पठाएसँगै डिल्लीबजार कारागारमा ‘भिआइपी कैदी’को संख्या चार पुगेको छ। विभिन्न अभियोग लागी थुनामा पर्ने ठूला व्यक्तिहरुलाई थुनामा राख्दै आएको डिल्लीबजार चारखालको कारागारमा नेपालको इतिहासमै पहिलोपटक राज्यको पाँचौँ ठूलो मर्यादाक्रमको पदमा आसिन व्यक्ति जेलमा पुगेका छन् ।
महरालाई पुर्याउनुअघि काठमाडौको डिल्लीबजार कारागारमा कैलालीबाट सांसद पदमा निर्वाचित रेशम चौधरी, पूर्वप्रहरी महानिरीक्षक रमेशजंग ठकुरी र पूर्व डिआइजी रञ्जन कोइराला रहेका थिए। कारागार प्रमुख अरुण पोखरेलले सञ्चारकर्मीसँग भने, ‘महराजीलाई ल्याइएसँगै यहाँ भिआइपी कैदीको संख्या चार पुगेको छ। हामीले अरु कैदीलाई भन्दा उहाँहरुलाई अलि बढी चासो दिने गरेका छौँ।’
कैलाली–२ निर्वाचित रेशम चौधरी संविधान जारी हुने बेला २०७२ भदौ ७ गते टिकापुरमा एसएसपी, नाबालकसहित आठजनाको निर्ममता पूर्वक हत्या गरेको अभियोगमा दोषी ठहर भइ जेल जीवन बिताइरहेका छन्।
उनलाई कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ। त्यस्तै पूर्व महानिरिक्षक ठकुरी सुडान घोटाला काण्डमा दोषी ठहर भएपछि एक वर्षअघि आत्म समर्पण गरेपछि जेल पुगेका थिए।
सर्वोच्च अदालतले एकैपटक चारजना आइजिपीलाई भ्रष्टाचारी ठहर गरे पनि ठकुरी फरार थिए। जेल प्रशासनका अनुसार ठकुरी अझै एक वर्ष त्यहीँ रहनेछन्। पूर्व डिआइजी कोइराला आफ्नी पत्नी गिता ढकाललाई निर्दयी तरिकाले जलाएर हत्या गरेको अभियोगमा जेल जीवन बिताइ रहेका छन्। उनलाई काठमाडौँ जिल्ला अदालतले १२ वर्ष कैद सजाय सुनाएको छ।
त्यस्तै पूर्व बैंकर कमल ज्ञावली पनि उक्त कारागारमा नै रहेका छन् । उनले त्यहा रहेका सबै बन्दीहरुको लागि पुजापाठ गर्ने काम गर्ने गरेका छन् । नेपालबाट फरार रहेका बेलामा केहि महिना भारतको बसाइमा पुजारीको काम गर्ने विद्या सिकेका रहेछन् ।
संसद सचिवालयकै कर्मचारी रोशनी शाहीलाई उनको कोठामै पुगेर जबरजस्ती करणीको प्रयास गरेको अभियोगमा पक्राउ परेपछि महरालाई सोमबार काठमाडौँ जिल्ला अदालतले पुर्पक्ष थुनामा पठाएको हो।
जिल्ला मुख्य न्यायाधीश सुर्दशनराज पाण्डेको इजलासले प्राप्त प्रमाणका आधारमा मुद्दामा पछि ठहरे बमोजिम हुने गरी तत्कालका लागि थुनामा पठाउन आदेश दिएको छ।भिआइपी भनेर विशेष व्यवस्था जेलभित्र नभएकाले सबैलाई समान व्यवाहार हुने गरी राखिएको जानकारी दिदै पूर्वसभामुख महरालाई पनि अरु कैदी जस्तै सामान्य र सामूहिक रुपमै राखिने स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस