aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

विमानस्थल स्तरोन्नति समयअगावै पूरा हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २० कार्तिक २०७६
विमानस्थल स्तरोन्नति समयअगावै पूरा हुने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धावनमार्गपछि निर्माण भइरहेका अन्य स्तरोन्नतिको काम निर्धारित समयअगावै पूरा हुने भएको छ। 

हाल रात्रिको समयमा विमानस्थल दैनिक ७ घण्टा बन्द गरेर स्तरोन्नतिको काम भइरहेको छ। राति ११ बजेर ३० देखि विहान ६ः३० सम्म विमानस्थल स्तरोन्नतिअन्तर्गत दोस्रो चरणको काम भइरहेको छ । सेप्टेम्बर १ (भदौ १५) बाट सुरु भएको यो काम शीघ्र सम्पन्न हुने जनाइएको छ। 

स्तरोन्नतिअन्तर्गत धावनमार्गको काम पूरा भइसकेको छ भने दोस्रो चरणको ‘प्यारालल ट्याक्सी-वे’ को काम पनि भइरहेको नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका इन्जिनियर दीपेन्द्र श्रेष्ठले बताए । 

उनले भने, “स्तरोन्नतिको सम्पूर्ण काम पूरा गर्ने समय सन् २०२० को मे महिनासम्म हो तर नेपाल भ्रमण वर्षलाई सहयोग पुर्याउने हेतुले विमानस्थल चुस्त दुरुस्त गर्नको लागि तीव्र गतिमा काम भइरहेकोले डिसेम्बरभित्र सक्ने लक्ष्यसहित काम भइरहेको छ।’ 

चिनियाँ कम्पनीले ८ महिनाभित्र ‘ट्याक्सी वे’ को काम पूरा गर्ने लक्ष्य लिएको छ। सेप्टेम्बर १ देखि डिसेम्बर ३१ सम्म दोस्रो चरणअन्तर्गत स्तरोन्नतिको लागि राति साढे ११ बाट बिहान साढे ६ बजेसम्म नोटिस फर एयरम्यान (नोटाम) जारी गरेर राति उडान अवतरण नै बन्द गरेर विमानस्थलको काम भइरहेको हो । यो समाचार आजको कारोबार दैनिकमा प्रकाहित छ ।

प्रतिक्रिया दिनुहोस