aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

धितोपत्र बोर्डमा ‘हाम्रा’ लाई भन्दा ‘राम्रा’ लाई राख्न दबाब

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २० कार्तिक २०७६
धितोपत्र बोर्डमा ‘हाम्रा’ लाई भन्दा ‘राम्रा’ लाई राख्न दबाब

काठमाडौं । शेयर लगानीकर्ताले पुँजी बजार संक्रमण अवस्थामा रहेको भन्दै सक्षम र दक्ष व्यक्ति धितोपत्र बोर्डको अध्यक्षमा नियुक्ति गर्न दबाब दिएका छन् । उनीहरुले राजनीतिक आस्थाका आधारमा बोर्डको नेतृत्व सुम्पिदा समस्या समाधान नहुने भएपछि सक्षम र दक्ष व्यक्ति नियुक्ति गर्नुपर्नेमा जोड दिएका हुन् ।

शेयर लगानीकर्ता दबाब समूहका हरि ढकालले धितोपत्र बोर्डको अध्यक्ष पुँजी  बजारका लगानीकर्तामा चासो र सरोकार रहेको विषय बनेको भन्दै हाल संक्रमण अवस्थामा रहेको बजारलाई सही दिशा प्रदान गर्न सक्ने खालको व्यक्तिलाई अध्यक्ष पदमा नियुक्त गर्नपर्नेमा जोड दिए । 

उनले अत्यान्त नाजुक अवस्थामा पुँजी बजार पुगेको भन्दै धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रियामा ढिला नगर्न पनि  आग्रह गरेका छन् । लगानीकर्ताको दबाब समूहले मंगलबार एक विज्ञप्ति जारी गर्दै पूँजीबजारको नियामक निकाय धितोपत्र बोर्ड नेतृत्वविहीन अवस्थामा रहँदा बजारमा नकारात्मक प्रभाव पर्नसक्ने भन्दै अध्यक्ष नियुक्तिमा ढिलाई नगर्न सरकारसँग आग्रह गरेको हो ।

 उक्त समूहले पूँजीबजारसँग सम्बन्धित दक्ष ज्ञान भएका, आर्थिक रुपमा पारदर्शी, अनुभवी र सुझाव समितिले प्रस्तुत गरेको ५८ बुँदाहरुमध्ये कार्यान्वयन हुन बाँकी रहेका लगानीकर्ताका मागलाई कार्यान्वयन गर्नसक्ने सक्षम र दक्ष नेतृत्व नियुक्त हुनुपर्नेमा जोड दिएको छ ।

यस अघिका बोर्ड अध्यक्ष डा. रेवतबहादुर कार्कीको चार वर्षे कार्यकाल असोज मसान्तमा सकिएपछि बोर्डको अध्यक्ष पद खाली छ । यता, सरकारले बोर्डको अध्यक्षमा दक्ष व्यक्ति नियुक्ति गर्ने तयारी गरेको छ । बोर्डको अध्यक्ष छनोटका लागि अर्थमन्त्रालयले समिति गठन गरिसकेको छ । उक्त समितिले अध्यक्षका लागि उपयुक्त व्यक्तिको छनोट गर्ने र उक्त व्यक्तिको नाम अर्थमन्त्रीले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने र मन्त्रिपरिषद्ले बोर्डको अध्यक्ष चयन गर्ने व्यवस्था छ । त्यही अनुसार केही दिनभित्र अध्यक्ष चयन हुने सम्भावना रहेको अर्थ मन्त्रालय स्रोतको भनाइ छ ।

उक्त समितिले बोर्डको अध्यक्षका लागि दक्ष व्यक्तिको खोजी गर्न थालको छ । पुँजी बजारकै विषयमा विद्यावारिधि गरेका बोर्डकै निमित्त कार्यकारी निर्देशक डा.नवराज अधिकारी अध्यक्षका लागि बलियो उम्मेदवार हुन् साथै बोर्डका कार्यकारी निर्देशक परिष्ठनाथ पौडेल र निरज गिरी पनि सशक्त प्रतिस्पर्धी हुन् ।

बोर्डको अध्यक्ष हुने दौडमा राष्ट बैंकबाट अवकाश भएका बढी आकांक्षी देखिए पनि उनीहरु गभर्नरका लागि उपयुक्त हुने भएकाले बोर्डबाटै नेतृत्वमा आउनुपर्ने सरोकारवालाको जोड छ । राष्ट बैंकबाट रिटायर्ड भएर नेपाल बैंकको अध्यक्ष पदमा रहेका बासुदेव अधिकारी पनि बोर्डको अध्यक्षका लागि दौडमा लगेका छन् । पछिल्लो समय उनी गभर्नर पदमा बढी आकांक्षी देखिएका छन् । गभर्नर नभए मात्र बोर्डको अध्यक्ष बनाउनुपर्छ भन्दै हिँडेका छन् । 

यसैगरी नेपाल राष्ट बैंकको डेपुटी गभर्नरबाट अवकास पाएका महाप्रसाद अधिकारी पनि लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत छाडेर गभर्नरको दौडमा लागेका छन् । पहिला बोर्डको अध्यक्ष हुन इच्छुक देखिए पनि अहिले उनी गभर्नरको दौडमा लागेको बताइन्छ । राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक भीष्मराज ढुंगाना पनि अध्यक्ष पद छाडेर गभर्नरको दौडमा लागेका छन् । 

आगामी चैतबाट गभर्नर चिरन्जीवी नेपालको कार्यकाल सकिने र त्यसपछिको गभर्नरको दौडमा राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर र कार्यकारी निर्देशक गभर्नर पदको दौर्डतर्फ लागेकोले पनि अधिकारीलाई नै बनाउनुपर्नेमा अर्थ मन्त्रालयले जोड दिएको बुझिएको छ । 

नेपाल स्टक एक्चेन्जका पूर्वअध्यक्ष टंक पनेरुसमेत  बोर्डको अध्यक्ष बन्ने लाइनमा रहेको बताइछ । 
बोर्डको अध्यक्षका लागि नेताको आर्शीवाद थाप्ने दौडाह शुरु भए पनि त्यसले कुनै अर्थ नराख्ने बिज्ञहरु बताउँछन् । 
 

प्रतिक्रिया दिनुहोस