काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १५ प्रतिशतसम्म विद्युत्को महशुल वृद्धि गर्ने गरी प्रस्ताव गरेको छ । प्राधिकरणले सञ्चालक समितिबाट निर्णय गरी बुधबारै विद्युत् नियमन आयोगसमक्ष महशुल वृद्धिका लागि प्रस्ताव गरेको हो।
नियमन आयोगले विद्युत् उपभोक्ता महसुल निर्धारण निर्देशिका २०७६ मस्यौदा राय सुझावका लागि सार्वजनिक गरेकै दिन प्राधिकरणले महशुल वृद्धिका लागि प्रस्ताव गरेको हो । नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले प्राधिकरणले बुधबार मात्र महशुल वृद्धिका लागि प्रस्ताव गरेको जानकारी दिए।
“प्राधिकरणले प्रस्ताव गरेको छ, आयोगले ल्याएको निर्देशिका अनुसारका सबै विवरण नपठाएकोले विवरणसहित पूर्ण रूपमा प्रस्ताव ल्याउनका लागि पत्र पठाउँदैछौं,” उनले भने, “आयोगले सबै विवरणको विश्लेषण गरेर उपभोक्तालाई समेत मर्का नपर्ने र विद्युत् प्राधिकरणले समेत घाटामा गएर मर्का नपर्ने गरी महशुलको वृद्धि हुन्छ।”
प्राधिकरणले समग्रमा १० देखि १५ प्रतिशत महशुल वृद्धिको प्रस्ताव गर्दै प्राधिकरणको लगानीमा समेत प्रतिफलको सुनिश्चितता गर्न प्रस्ताव पठाएको छ । प्रस्तावअनुसार डेडिकेटेड र ट्रॅक लाइनमा दोब्बर अर्थात ६५ प्रतिशतसम्मको महशुल हटाइ २१ देखि २७ प्रतिशतसम्म घटाउन भनिएको छ। यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस