मकवानपुर । सामान्यतया कुनै पनि कार्यक्रमका प्रमुख तथा अन्य अतिथिलाई विशेष सम्मान दिइन्छ। तर चेपाङ्ग बाहुल्य पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिकावासीले भने अनौठो तरिका अपनाएका छन्।
कार्यक्रम थियो- जनज्योति प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण । स्थान थियो- राक्सिराङ ८, महांकाल। प्रमुख अतिथि थिए- प्रदेश नम्बर ३ का सांसद सन्तबहादुर चेपाङ, विशेष अतिथि राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, ८ नम्बर वडाध्यक्ष रामकृष्ण प्रजा तथा अतिथिहरू राक्सिराङ ९ नम्बर वडा अध्यक्ष रामकुमार थिङ, नेपाली कांग्रेसका पूर्वसभापती रघुरमण न्यौपाने र नेकपा राक्सिराङका अध्यक्ष हस्तबहादुर मुक्तानलगायत। अतिथिहरूको आसन ग्रहणपछि विद्यालय उद्घाटन हुने धेरैको अपेक्षा थियो।
तर कार्यक्रम सञ्चालकले भने, ‘अब प्रमुखसहित सबै अतिथिज्यूहरूले तल राखिएको पानी भरिएको गाग्रीसहितको डोको बोकेर कार्यक्रम स्थलसम्म ल्याउन अनुरोध गर्दछु।’
अतिथिदेखि स्थानीयसमेत मुखामुख गरे। त्यसपछि करिब एक सय मिटर टाढा राखिएको गाग्रीसहितको डोको पाँचजना अतिथिले बोके र कार्यक्रमस्थल पुयाए। सहभागी स्थानीयले ताली बजाएर स्वागत गरे। दुई घण्टाको पैदल दुरीमा रहेको वैद्यखोलाको पानी बोकेर खानेपानीको रूपमा प्रयोग गर्नुपर्दा निकै समस्या रहेको राक्सिराङ ८, महांकालकी ६५ वर्षीया राममाया तितुङले बताइन् । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस