
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले अब सरकार षोषणयुक्त खाद्यान्न उत्पादनमा केन्द्रित हुने बताएका छन् ।
बिहीबार आयोजित खाद्य प्रणालीको रुपान्तरणसम्बन्धी सम्मेलनमा बोल्दै सचिव जिसीले अहिलेसम्म सरकारले उत्पादनमा जोड दिएको भन्दै अब पोषणयुक्त उत्पादनका कार्यक्रम सञ्चालन गर्ने बताएका छन् ।
उनले नेपालमा भोकमरीका कारण खाना नपाएर हुने मृत्युभन्दा सयौं गुणा बढी कुपोषणका कारण मानिसको ज्यान जाने गरेको भन्दै पोषणयुक्त खाना उत्पादनमा सरकार केन्द्रित भइसकेको जानकारी दिएका छन् ।
सरकारले अगाडि सारेको तीन करोड फलफूलका बेर्ना रोप्ने कार्यक्रम, मौसमी तरकारी खेती, खाद्यान्न उत्पादनमा विविधीकरण, पशुपालनमा सहुलियत कर्जा प्रवाह, मासुजन्य उत्पादनमा आर्थिक, प्राविधिक र सीपगत सरकारी सहयोग यसैको एक उदाहरण भएको बताए । अहिलेसम्म उत्पादन बढाउने विषयमा मात्र बहस चलेको भन्दै सचिव जिसीले अव पोषणयुक्त खानाका विषयमा पनि छलफल चलाउन आवश्यक रहेको छ ।
त्यस्तै कार्यक्रममा बोल्दै नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठकले संयुक्त राष्टसंघले अगाडि सारेको दिगो विकास लक्ष्यको पहिलो र दोस्रो बुँदामा रहेको खाद्य सुरक्षा र गरिबी निवारणमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताए । उनले भने–‘सरकारले अगाडि सारेको सहश्रब्दी लक्ष्य २०३० मा नेपालका कृषि सहकारीले ठूलो भूमिका खेल्न सक्ने धारणा राखेका छन् ।
अध्यक्ष पाठकले विश्वको ध्यान कृषि तथा पशु उत्पादनमा गईरहेको समयमा नेपालका साना किसान र सहकारीले गरिरहेको काम सरकार र अन्तर्राष्ट्रिय निकाय समक्ष पुर्याउनुपर्ने आवश्यकता औल्याएका छन् । कार्यक्रममा सहभागी नेदरल्यान्ड राजदूतावासका प्रतिनिधी एल्स फान डेलले नेपालजस्तो देशमा कुपोषणको समस्या हुन नहुने धारणा राखेका छन् । उनले कृषि तथा पशुजन्य उत्पादनको प्रचुर सम्भावन रहेको र उत्पादन भइरहेको अवस्थामा यसलाई व्यवस्थापन गर्न सके नेपाल पोषणयुक्त खाद्यन्नमा आत्मनिर्भर हुने बताए ।
यसैगरी वल्र्ड वेन्च मार्कीगंका खाद्य तथा कृषिका प्रतिनिधि इडो फेरागनले खाद्य सुरक्षा र पोषण व्यवस्थापन अहिले विश्वको चुनौतीको विषय भएको छ । उनले आगामी दिनमा खाद्य सुरक्षा र पोषण व्यवस्थापनमा नोपलसंग मिलेर काम गर्न इच्छुक रहेको धारणा राखिन् ।
कार्यक्रममा भियतनाम, भारत, बंगलादेश, इण्डोनेसिया, नेदरल्यान्ड र नेपालका कृषि सहकारी र यस क्षेत्रमा काम गर्ने संस्थाका ५० भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ । दुई दिनसम्म चल्ने सम्मेलनमा पोषण, खाद्य सुरक्षा, जलवायु परिवर्तन, खाद्य रुपान्तरण, अन्तर्राष्ट्रिय अभ्यास र नेपालको अभ्यासका बारेमा अनुभव आदान प्रदानका हुने आयोजक नेपाल कृषि सहकारी केन्द्रीय संघका महाप्रबन्धक रुद्र भट्टराईले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस