काठमाडौं । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता दुई गुणाभन्दा धेरैले बढेको छ। उद्योग विभागका अनुसार साउनदेखि असोज मसान्तसम्मको अवधिमा ११ अर्ब ३६ करोड रुपैयाँ बराबरको प्रतिवद्धता आएको छ ।
जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.३५ गुणाले बढी हो । अघिल्लो वर्ष ४ अर्ब ८३ करोड रुपैयाँ बराबरको प्रतिबद्धता आएको थियो। सरकारले गत चैत महिनामा नेपाल लगानी सम्मेलन आयोजना गरेपछि वैदेशिक लगानीकर्ताको रुचि बढेको हो । चालू वर्षमा पर्यटन क्षेत्रमा सबैभन्दा धेरै लगानीका लागि प्रतिवद्धता आएको छ ।
एकातर्फ सरकारले आयोजना गरेको अन्तर्राष्ट्रिय लगानी सम्मेलनसँगै निजी क्षेत्रको आयोजनामा भएको पूर्वाधार सम्मेलन तथा सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने योजनाले पर्यटन क्षेत्रमा लगानी प्रतिवद्धता बढेको छ । यसअघि औद्योगिक व्यवसाय ऐन, खानी ऐन, पेटेन्ट डिजाइन तथा ट्रेडमार्क ऐन, सेज ऐन तथा नियमावलीजस्ता नीतिगत व्यवस्थाले पनि लगानी लागि प्रोत्साहन गरेको छ । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस