aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

होटल क्षेत्रमा वैदेशिक लगानी वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ कार्तिक २०७६
होटल क्षेत्रमा वैदेशिक लगानी वृद्धि

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० अभियान प्रारम्भ हुनै लाग्दा मुलुकको होटल क्षेत्रमा वैदेशिक लगानी उल्लेख्य मात्रामा वृद्धि भएको पाइएको छ ।

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ३९ वटा पर्यटन उद्योग (होटल तथा रेष्टुराँ) मार्फत रु पाँच अर्ब ७७ करोड वैदेशिक लगानी भित्रिएको उद्योग विभागले जनाएको छ । विभागका अनुसार चालू आवको पहिलो तीन महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा शत्प्रतिशत लगानी वृद्धि भएको छ । 

विदेशी लगानीतर्फ चालू आवको तीन महिनामा ७७ उद्योगले स्वीकृति पाएका छन् । यसमा सबैभन्दा बढी ३९ वटा पर्यटन उद्योगसँग सम्बन्धित छन् । सेवातर्फ २५, उत्पादनका सात, सूचना प्रविधिसम्बन्धी छ र कृषि, वन पैदावारका एक उद्योग रहेका छन् । उपयुक्त परियोजनाका लागि रु ११ अर्ब ३६ करोडको प्रतिबद्धता आएको विभागले जनाएको छ । यसबाट चार हजार २९२ रोजगारी सिर्जना हुने प्रक्षेपण गरिएको छ । गत वर्षको सोही अवधिमा रु चार अर्ब ८३ करोड ५२ लाख विदेशी लगानी प्रतिबद्धता आएको थियो ।

विभागका निर्देशक एवं प्रवक्ता विनोद खड्काले चालू आवको पहिलो तीन महिनामा उत्साहवद्र्धक रुपमा विदेशी लगानी प्रतिबद्धता आएको बताउए । अघिल्लो आवको सोही अवधिको तुलनामा अहिले शत्प्रतिशत लगानी बढेको उनले उल्लेख गरे ।

निर्देशक खड्काका अनुसार चालू आवको तीन महिना (साउन १ देखि असोज मसान्तसम्म) विभागमा मा ८२ उद्योग दर्ता भएका छन् । तीमध्ये सबैभन्दा बढी ३० वटा पर्यटन उद्योग (होटल तथा रेष्टुराँ) छन् ।  उत्पादनतर्फ २०, ऊर्जाका १५, सेवामूलक १२  र कृषि, वन पैदावारमा आधारित जम्मा तीन उद्योग दर्ता भएका छन् । ती उद्योगबाट आर्थिक प्रतिबद्धताअनुरुप रु ४८ अर्ब ९१ करोड ३६ लाख लगानी हुन आउँछ । यसबाट पाँच हजार ६१ रोजगारी सिर्जना गर्ने लक्ष्य छ । 

विभागको आँकडाअनुसार अघिल्लो आव २०७५/७६ मा कूल २३ अर्ब ६९ करोड विदेशी लगानी प्रतिबद्धता आएको थियो ।

प्रतिक्रिया दिनुहोस